मकवानपुर । पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि मेची–महाकाली साइकलयात्रा आईतबारबाट सुरु भएको छ । हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा हेटौँडाका ११ र बुटवलका २ गरि १३ जना साइकलयात्रीहरुले आईतबार बिहान झापाको काकडभिट्टाबाट यात्रा सुरु गरेका हुन् ।
“स्वास्थ्य, पर्यावरण र पर्यटनको निम्ति साइकल” भन्ने नाराका साथ मेची पुलबाट उद्घाटन गरि सुरु गरिएको यात्रा करिब १० दिनमा महाकाली पुगेर समापन गरिने लक्ष्य रहेको साईकल यात्री भानुभक्त आचार्यले जानकारी दिनुभयो । साइकल सस्कृति बिकासको महाअभियान अन्तर्गत पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर साइकल यात्रामा निस्किएको आचार्यले बताउनुभयो । आगामी दिनमा निर्माण गरिने सार्वजनिक यातायातका पूर्वाधारमा साइकल लेन, साइकल पार्किङ, अपाङमैत्री लेन समाबेश गर्न पनि सोसाइटीले आग्रह गरेको छ । साइकलयात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।
सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनका लागि साईकल यात्रा आयोजना गरिएको बताउनुभयो । पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मेची–महाकाली साइकलयात्राको आयोजना गरिएको उहाँको भनाइ छ । यात्राका क्रममा मुलुकका प्रमुख पर्यटकीय स्थलको अवलोकन र प्रचारप्रसार गरिने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले बताउनुभयो । यात्राका क्रममा साईकल यात्रीहरुले मकवानपुर र बुटवलको पर्यटकीय क्षेत्रहरूको प्रर्वद्धन गर्ने बताउनुभयो ।
साइकलयात्रामा सहभागी सदस्यमध्ये लक्ष्मीचरण श्रेष्ठ र भानुभक्त आचार्य दोस्रोपटक मेची–महाकाली साइकल यात्रा गर्दै हुनुहुन्छ । आचार्य साइकलयात्रामा सहभागीमध्ये जेष्ठ सदस्य समेत हुनुहुन्छ । २०५४ साल माघ महिनामा सामान्य साइकलमा हेटौँडाका ११ जनाले मेचीमहाकाली यात्रा गरेका थिए । “भिजिट नेपाल–९८” को अवसरमा हेटौँडाको सहीद स्मारकलगायतका पर्यटकीयस्थलको जानकारी दिनका लागि व्यक्तिगत खर्चमा उहाँहरूले साइकलयात्रा गर्नु भएको थियो । त्यसबेला ११ जनामध्ये २ जनाले पूर्वबाट हेटौँडासम्म साइकलयात्रा गरी बीचैमा यात्रा स्थगित गर्नु भएको थियो भने ९ जनाले १६ दिन लगाएर मेची–काली साइकलयात्रा पूरा गर्नु भएको थियो ।
टोलीमा हेटौंडाका लक्ष्मीचरण श्रेष्ठ, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, दुर्गाप्रसाद लामिछाने, सुशील चौधरी (बुटवल), सुरज खत्री (बुटवल), विकास बानियाँ, सीता श्रेष्ठ सहभागि हुनुहुन्छ । २५ वर्षअघि १६ दिनमा पुरा गरेको यात्रा अहिले पूर्व पश्चिम राजमार्गको वर्तमान अवस्था र गियर सहितको साइकल उपलब्ध भएका कारण १२ दिनभित्र यात्रा सम्पन्न गर्न सकिने उहाँहरूले बताउनुभयो ।