नेपाल राष्ट्र बैंकले विभिन्न नाकाबाट अवैध रूपमा भित्रिएको ३ सय ७६ केजी ९ सय ६९ ग्राम सुन खरिद गरेको छ । पछिल्लो ५ वर्षमा (आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८०)सम्म राष्ट्र बैंकले २ अर्ब १२ करोड १२ लाख ५६ हजार बराबरको सुन खरिद गरेको हो ।
अवैध सुन बजार मूल्यको ५ प्रतिशत बढी दिएर खरिद गरिँदै आएको केन्द्रीय बैंकले जनाएको छ । भन्सार शुल्क नलागेको भएर ५ प्रतिशत बढी मूल्य दिइएको हो । राष्ट्र बैंकले यसलाई असर्फी बनाउन प्रयोग गर्दै आएको छ । यो अवधिमा अवैध रूपमा भित्रिएको ९ सय ९४ केजी ५ सय ६७ ग्राम चाँदी खरिदमा राष्ट्र बैंकले ५ करोड ६७ लाख ४७ हजार ५ सय ५ रुपैयाँ खर्चिएको छ ।