गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ८२ करोडको बजेट प्रस्तुत गरेको छ । शुक्रबार प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले उक्त परिमाणको बजेट प्रस्तुत गर्नुभएको हो ।
चालुतर्फ १२ अर्ब १३ करोड अर्थात् ३८ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात् २० अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ । बजेटले कृषि, स्वास्थ्य लगायतका विषयमा जोड दिएको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज ल्याइएको बजेटको आकार आन्तरिक स्रोत र संघ सरकारले दिने अनुदान खुम्चिएपछि केही सानो आकारमा आएको हो ।
चालु आवमा कर तथा राजस्वबाट ११ अर्ब ३४ करोड ३७ लाख उठाउने लक्ष्य लिइएको छ । आउँदो वर्ष उज्यालो प्रदेश र एक घर एक धारा अभियान पूरा गर्ने मन्त्री आलेले बताउनुभयो । २ अर्ब ७० करोडको लागतमा ३० हजार धारा जडान गरी खानेपानी पहुँच पुर्याउने उहाँले बताउनुभयो । आउँदो वर्षमा ३०० किलोमिटर सडक कालोपत्रे र २० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ। भू संरक्षणका लागि १५ करोड विनियोजन गरिएको छ । २० हजार क्षेत्रमा सिँचाइ गर्ने बजेटमा उल्लेख छ ।
शिक्षा सामाजिक विकास विशिष्टीकृत जनशक्ति उत्पादन र अनुदानको लागि १५ करोड बजेट विनियोजन भएको छ । प्रदेशको विकास गर्न लगानी सम्मेलन गरिने भएको बजेटमा उल्लेख गरिएको छ ।