मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरले ७२औं मदन जयन्ती साताव्यापी रुपमा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेर मनाउने निर्णय गरेको छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरको मंगलबार बसेको बैठकले जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा टिकटक प्रतियोगिता, रक्तदान कार्यक्रम, कवि गोष्ठी, हाजिरिजवाफ, श्रदाञ्जली सभा तथा पुरस्कार वितरणलगायत विभिन्न रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले मदन जयन्तीका अवसरमा “मैले बुझेको मदन भण्डारी” शीर्षकमा टिकटक प्रतियोगिता गर्ने, असाढ ७ गते रक्तदान कार्यक्रम आयोजना गर्ने, असाढ ९ गते कवि गोष्ठी गर्ने, असार १२ गते हाजिरिजवाफ प्रतियोगिता र असाढ १४ गते फाउण्डेसन र स्मारक विकास समितिको समन्वयमा हेटौंडा–११, स्थित शहिद स्मारकमा मदन भण्डारीको शालिकमा माल्यार्पण तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले यी कार्यक्रमहरु सञ्चालकका लागि विभिन्न जिम्मेवारी समेत प्रदान गरेको अध्यक्ष खुलालले बताउनुभयो ।
बैठकले यस अघि फाउण्डेसन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र हर्माको स्मृतिमा स्थापना गरेको श्रीचन्द्र शर्मा स्मृति सम्मान कार्यक्रमको समिक्षा समेत गरेको छ । भने, आगामी बैठकदेखि लगातार तीनवटा बैठकमा विना जानकारी अनुपस्थित हुने सदस्यको सदस्यता नरहने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।