मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल जिल्लाका ४ वटा सहकारी संस्थालाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरेर जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल मकवानपुरका ४ वटा सहकारी संस्थालाई सम्मान गर्नुभएको हो ।

जिसस प्रमुख खुलालले केन्द्रिय बचत सहकारी संघ (नेफ्स्कुन) द्वारा नेपालका बचत तथा ऋण सहकारी संस्थामध्ये उत्कृष्ट सहकारी हुन सफल ईन्द्रसरोवरको सकृय महिला कचत तथा ऋण सहकारी, मकवानपुरगढीको महिला जागरण, हेटौंडा–१५ को महिला मिलन र हेटौंडा–१३ को महिला जनचेतना बचत तथा ऋण सहकारी संस्थालाई प्रमाणपत्रद्धारा सम्मान गर्नुभएको हो ।
त्यस्तै भर्खरै मात्र निर्वाचित जिल्ला सहकारी संघका प्रतिनिधिलाई समेत जिसस मकवानपुरले बधाई व्यक्त गरेको छ । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको सभाध्यक्षतामा भएको थियो ।