शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणका खेलहरू सोमबारबाट शुरु भएका छन् । आज भएको एपीएफ क्लबले तेस्रो जित निकालेको छ । च्यासल मैदानमा सोमबार विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै एपीएफले तेस्रो जित निकालेको हो । एपीएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले एक एक गोल गरे । खेलको ५७ औँ मिनेटमा डोम्बियाले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा सबिनले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । जितसँगै एपीएफले ६ खेलमा १० अङ्क जोडेको छ । एपीएफ पाँचौँ स्थानमा उक्लिएको छ ।
पुछारको पुलिसको यो पाँचौँ हार हो । पुलिसले ६ खेलमा १ अङ्क जोडेको छ । अर्को खेलमा सङ्कटा फुटबल क्लबले एफसी खुमलटारलाई हराएको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा सङ्कटाले खुमलटारलाई १–० गोल अन्तरले हराएको हो । सङ्कटाको जितमा जुनियर ओन्गुएनेले निर्णायक गोल गरे । सङ्कटाको यो दोस्रो जित हो । सङ्कटाले ६ खेलमा ९ अङ्क जोडेको छ । सङ्कटा छैटौँ स्थानमा उक्लिएको छ । खुमलटारको यो चौथो हार हो । खुमलटार ६ अङ्क जोडेर नवौं स्थानमा रहेको छ ।