राष्ट्रपतिको निर्वाचनको मतगणना सकिएको छ । निर्वाचनको मतपरिणामअनुसार राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान भएको थियो । निर्वाचन आयोगका अनुसार रामचन्द्र पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गर्नुभयो । पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत प्राप्त गर्नुभयो । यस्तै नेम्वाङले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत प्राप्त गर्नुभयो ।
बिहीबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । राष्ट्रपतिका लागि कुल ८८१ मध्ये ८३१ मत खसेको छ । संघीय सांसदतर्फ ३१३ मत खसेको छ । संघीय संसदका कुल ३३१ मध्ये १८ मत खसेन । यसमा राप्रपाका १४, भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारी र फरार सांसद लक्ष्मी महतो कोइरीसमेत १६ जनाको मत खसेन भने बाँकी दुई सांसद अनुपस्थित देखिनुभयो ।
यसैगरी प्रदेशसभातर्फ ५५० मध्ये ५१८ सदस्यले मतदान गर्नुभएको छ । ३२ जनाको मत नखसेकामा राप्रपाका २८ हुनुहुन्छ भने थप चारजना मतदानमा अनुपस्थित भएको देखिन्छ । राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २७५ सांसद गरी संघीय संसद्‌मा ३३४ कुल सदस्य हुनुहुन्छ । तीमध्ये एकजना निलम्बित, एकको निधन भएको, एकजना पदमुक्तसमेत गरी तीनजना घटाउँदा कुल मतदाता संख्या ३३१ थियो ।