मकवानपुर – बागमती प्रदेशको प्रदेश सभा अधिवेशन पुस १८ गते सोमबारका लागि आह्वान भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको ११ औँ अधिवेशन बैठक पुस १८ गते दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको हो ।
बागमती प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काद्वारा जारी सूचना अनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन पुस १८ सोमबारलाई आव्हान गर्नु भएको हो । प्रदेश सभाको बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्नु हुने छ । बुधबार मात्र प्रदेश प्रमुखसँग जेष्ठ सदस्य ढुंगानाले पद तथा गोपनियताको शपथ लिनु भएको हो ।