बागमती प्रदेशका ४ वटा जिल्लाहरूमा मानवअधिकार उल्लङ्घनका घटनासँगसम्बन्धी उजुरी नै नपरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयले बिहीबार प्रदेशको राजधानी हेटौँडामा उजुरीको विवरण सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
कार्यालयका अनुसार चालू आर्थिक वर्ष ०७८-७९ मा मकवानपुरसहित प्रदेशका ४ वटा जिल्लामा मानवअधिकारका घटनासम्बन्धी उजुरी नै नपरेको हो । आयोगका अनुसार चालू आर्थिक वर्षको मंसिर १५ गते बिहीबारसम्म मकवानपुर, रसुवा, सिन्धुली र भक्तपुर जिल्लाको कुनै पनि उजुरी नपरेको हो ।
कार्यक्रममा कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारीले प्रदेशको त्रैवार्षिक तुलनात्मक कार्य विवरण सार्वजनिक गर्दै यस वर्ष काठमाडौँको ८, ललितपुरको ७, नुवाकोट र चितवनको ४-४, सिन्धुपाल्चोकको ३, काभ्रेपलाञ्चोक, दोलखा र धादिङको २-२ तथा रामेछापको एउटा गरी बागमती प्रदेशमा यस वर्ष ३३ वटा उजुरी परेको जानकारी दिए ।
कार्यालयमा परेका उजुरीमध्ये सबैभन्दा धेरै नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी रहेको प्रमुख अधिकारीको भनाइ छ । मानवअधिकार आयोगको बागमती प्रदेश कार्यालयमा आर्थिक वर्ष ०७६(७७ मा ६८ वटा उजुरी परेकोमा अघिल्लो आर्थिक वर्ष ०७७-७८ मा ९८ वटा उजुरी परेको थियो । आव ०७६-७७ मा ७५६ वटा, ०७७-७८ मा ७२१ वटा र चालू आर्थिक वर्षमा ५९७ वटा विचाराधीन उजुरी रहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।
विशेष गरी नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, महिला अधिकार, बाल अधिकार, जातीय विभेदविरुद्धको अधिकार, व्यक्ति बेपत्ता पार्ने कार्यविरुद्ध र आप्रवासी कामदार र तिनको परिवारको अधिकारसम्बन्धी उजुरी पर्ने गरेको पाइएको छ । प्राप्त उजुरीमध्ये आव ०७६-७७ मा २११ वटामा अनुसन्धान गरिएको छ। यस्तै, अघिल्लो आर्थिक वर्षमा १३३ र चालू आर्थिक वर्षमा १५७ वटा उजुरीमाथि अनुसन्धान गरिएको जानकारी प्रमुख अधिकारीले जानकारी दिए।