सरकारले यस वर्षका लागि धानको नयाँ समर्थन मूल्य तोकेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक १६ गतेको निर्णयअनुसार आर्थिक वर्ष २०७९/८० का लागि मोटा धान प्रति क्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ र र मध्यम धान प्रति क्विन्टल ३ हजार १ सय २८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको छ ।
गत आर्थिक वर्षमा सरकारले मोटा धान प्रति क्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान प्रति क्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो । गत वर्षको तुलनामा यस आर्थिक वर्षका लागि तोकिएको मोटा धानको मूल्य प्रति क्विन्टल २ सय १५ रुपैयाँले बढेको छ भने मध्यम धानको मूल्य प्रति क्विन्टल २२६ रुपैयाँले बढेको छ । न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानहरूसँग धान किन्ने व्यवस्था रहेको छ ।
यसैगरि न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान किन्नका लागि ३३ करोड बजेट व्यवस्था रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान किन्नका लागि छिट्टै सूचना प्रकाशन कार्य गरिने छ । हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान किन्ने कृषि सहकारीहरूलाई ११२ रुपैयाँ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था रहेको छ । गत वर्ष यस कार्यक्रम अनुसार करिब ९ हजार मे.टन धान सरकारले किनेको थियो । यस आर्थिक वर्षमा ३ लाख मे.टन धान किन्नका लागि सरकारले ३३ करोड रकम विनियोजन गरेको कृषि मन्त्रालयले जनाएको छ ।