प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन्। ‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै ओलीले शर्मालाई फेरी अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ समेत बताए।
तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भिषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गरे। भ्रष्टचारको केशमा मुछिएका शर्मालाई लाजसरम नमानी अर्थमन्त्री फेरी बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरु कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको जिकीर समेत गरे।
‘मैले उहिले पनि भनेको थिए–गोरु नांगो देख्दा मलाई लाज लाग्दैन भनेर । तर यस पल्ट त गोरु पनि लजाउने काम सरकारले गर्यो। गोरु आफै लजाउने । भ्रष्टचारको केश लाग्या छ, छानवीन समिति आफ्नै बहुमत राखेर बनाएको छ । छानवीन गर्न दिएकै छैन । छानवीन भएकै छैन । कल डिटेल्स हटाएको छ’, ओलीले भने,’अनि सिसीटिभी फुटेज मेटाइएको छ । रिभाईभ गर्दा देखिदैन, बुझिदैन । अनि सफाई पायो । कहाँबाट पायो सफाई ? कल डिटेल्स समेत लिन नदिएर, कल डिटेल लिन नमानेर गठबन्धनवालाहरु । अनि फेरी अचम्मत के भने–लाजसरम नमानी, नेपाली जनतालाई कति साह्रो हेपेको । नेपाली जनताको विवेक, नेपाली जनताको नैतिक धरातलमाथि कत्रो हमला ?’