हेटौंडा: नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले हेटौंडा-११ को थानाभर्‍याङ्गमा रहेको सिमलटार टोललाई हेटौंडाको सौराहाको रुपमा बिकास गर्नुपर्ने बताउनुभएको छ । उहाँले पर्यटकीय क्षेत्रको रुपमा सिमलटारलाई बिकास गरि आयआर्जनमुलक कार्यमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको हो । बुधबार नेकपा एमाले हेटौंडा-११ स्थित सिमलटार टोल कमिटीले आयोजना गरेको टोल भेलालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी रानाले बिश्वका ठुलाठुला शहर नदि किनारामा स्थापित भएको भन्नुहुँदै नदि किनारमा भएको बस्तिलाई ठूलो शहरका रुपमा बिकास गर्न सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, `हेटौंडाबाट नै बगेर जाने राप्ती खोला मिसिएको चितवन सौराहाको रुपमा बिकास हुन्छ भने यहाँ पनि राप्ती किनाराको यो बस्तीलाई हेटौंडाको सौराहाको रुपमा बिकास गर्नुपर्छ । र यो काम अब एमालेको स्थानिय सरकारले गर्नेछ ।´ उहाँले आफ्नो नेतृत्वमा सिमलटार बासी सहित मकवानपुरका हजारौं भुमीहिन तथा अव्यवस्थित घरपरिवारको लगत संकलन गर्ने र लालपुर्जा बितरण गर्नको लागि अन्तिम तयारी चलिरहेको समयमा गठबन्धनको सरकार निर्माण भएर भुमीहिन सुकुम्बासी आयोग नै खारेज गरेकाले नै हालसम्म कसैले पनि लालपुर्जा पाउन नसकेको जिकिर गर्नुभयो । उहाँले अबको स्थानीय, प्रदेश र संघीय सरकारमा पुन: एमालेले बिजय हासिल गरि सरकारमा आएपछी तुरुन्तै लालपुर्जा बितरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।