हेटौंडा – नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेको केही बेरमा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा मीना कुमारी लामा र उपमेयर पदमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको हाे ।
गठबन्धन पनि दलबल सहित उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । लामा हेटौंडाको उपमेयर हुनुहुन्छ भने र बानियाँ हेटौंडा ५ को वडा अध्यक्ष हुनुहुन्छ । सोमबार दिउँसो ३ बजेको समयमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मीना र राजेशले उम्मेदवारी दर्ता गराउनुभएको हो । सत्तारुढ दलबीचको सहमतिमा नेकपा एकीकृत समाजवादीबाट मीना कुमारी लामा मेयर पदमा उम्मेदवार बन्नु भएको हो भने नेपाली कांग्रेसबाट राजेश बानियाँ उपमेयर पदमा उम्मेदवार बन्नु भएको हो । सत्तारुढ गठबन्धनबीच हेटौंडा उपमहानगरको वडा तहमा पनि तालमेलको प्रयास भएको छ । कतिपय वडामा गठबन्धनबीच तालमेल भएको छ भने कतिपय वडामा तालमेल हुन सकेको छैन ।
आसन्न स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता गर्न सत्तारुढ गठबन्धन दल हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजा र झाँकीसहित ठूलो संख्यामा संख्यामा कांग्रेसका नेता तथा कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेका हुन् । त्यस्तै, कांग्रेस, नेकपा समाजवादी, नेकपा माओवादीलगायतका पार्टीहरुले छुट्टाछुुट्टै हेटौंडाको १९ वटै वडाका अध्यक्ष तथा सदस्यहरुका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।