मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेपाल सरकारले बालबालिकाका लागि पहिलो पटक सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान सफल बनाउन आग्रह गर्नु भएको छ । जिल्ला खोप समन्वय समिति मकवानपुरको मंगलबार बसेको बैठकमा प्रमुख खुलालले सरकारले देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई ७५ लाख बालबालिका लाई लक्षित गरेर सुरु गर्न लागेको खोप अभियान सफल बनाउन सबै क्षेत्रका सरोकारवालालाई आव्हान गर्नुभयो ।
प्रमुख खुलालले सबै सरोकारवालालाई आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर खोप अभियान सफल बनाउन आव्हान गर्नुभयो । बैठकमा खोप अभियान सफल बनाउन जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले तयार पारेको कार्ययोजना बारे जानकारी गराईएको थियो । खोप अभियान शुभारम्भ तथा नियमित खोप कार्यक्रम सफल बनाउन स्वास्थ्य कार्यालयले तयार पारेको कार्य योजना आजको बैठकले अनुमोदन समेत गरेको प्रमुख खुलालले बताउनुभयो ।
बैठकमा स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भीमसागर गुरागाईले सरकारले देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई ७५ लाख बालबालिका लाई लक्षित गरेर सुरु गर्न लागेको खोप अभियानको संघीय सरकारका स्वास्थ्य मन्त्री बिरोध खतिवडाले मकवानपुरको मनहरी गाउँपालिका स्थित भोजसिद्ध माविबाट सुरु गर्नु हुने जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन अभिमुखिकरण, खोप केन्द्र, प्रचार प्रसार, खोपको उपलब्धता लगायत विषयमा काम भईरहेको उहाँले बताउनुभयो ।
चैत २५ गतेबाट सुरु भएर बैशाख १८ गतेसम्म सञ्चालन हुने अभियानमा मकवानपुरका एक लाख ८ हजार ४८६ जना बालबालिका लाभान्वित हुने उहाँले बताउनुभयो । गुरागाँईका अनुसार जिल्लामा कुल ६०८ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने छ । साथै अभियानमा ८७० जना खोप कर्ता र एक हजार ३९० जना स्यमसेवक परिचालित हुने छन् । निमित्त प्रमुख गुरागाईका अनुसार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ५० हजार १६३, थाहा नगरपालिकाका ८ हजार ६१६, बागमती गाउँपालिकाका ६ हजार ६२८, बकैयाका ८ हजार ९४८, मनहरीका १० हजार ३७२, राक्सिराङका ५ हजार ६९२, कैलाशका ४ हजार ८३८, भीमफेदीका ४ हजार ७५८, मकवानपुरगढीका ५ हजार ३३५ र ईन्द्रसरोवरका ३ हजार २७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले लक्षित समूहको ८० प्रतिशत बालबालिकालाई विद्यालयमै खोप लगाइने समेत जानकारी दिनुभयो ।
१५ बर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइडको संक्रमण हुने र जटिलता हुने दर उच्च रहेकोले खोप लगाउन अभियाननै सञ्चालन गरिएको गुरागाईले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले गुणस्तर प्रमाणित गरेको भारतमा उत्पादन भएको खोप लगाउन लागिएको हो । खोप पर्याप्त रहेको र अभियानपछि नियमित खोप कार्यक्रममा पनि लक्षित बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने बताइएको छ । बैठकमा जिसस मकवानपुरकी उप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमलगायत सरोकारवालाको उपस्थिती थियो ।