पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज भएको छ । पाकिस्तानको नेशनल एसेम्बलीले आज आइतवार उहाँविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेको हो । प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध मतदानअघि नै नेशनल एसेम्बलीका उपसभामुखले अविश्वास प्रस्तावलाई नै असंवैधानिक बताउँदै खारेज गर्नुभएको हो ।
अविश्वास प्रस्ताव खारेज भएसँगै प्रधानमन्त्री इमरान खानले देशलाई सम्बोधित गर्दै संसद् भङ्ग गर्दै चुनाव गराउनका लागि राष्ट्रिपति आरिफ अल्भीसमक्ष सिफारिस गरेको बताउनुभएको बीबीसीले जनाएको छ । देशलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘देशविरुद्ध यति ठूलो षड्यन्त्र भइरहेको थियो र आज असफल भयो । चुनावको तयारी गर्न जनतालाई आग्रह गर्दछु ।’ यसअघि पाकिस्तानको नेशनल एसेम्बलीमा विपक्षको अविश्वास प्रस्तावलाई उपसभामुख कासिम खान सूरीले संविधानको धारा ५ को उल्लङ्घन गर्ने बताउनुभएको थियो । यो निर्णयलाई लिएर विपक्षी सांसदहरूले आक्रोश व्यक्त गरेका र उनीहरूले संसद्को बैठक कक्ष छाड्न अस्वीकार गरिरहेका बीबीसीले जनाएको छ । पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले सरकारको कदमलाई चुनौती दिन वकिलहरू सर्वोच्च अदालत जान लागेको बताउनुभएको छ ।
Home अन्तराष्ट्रिय पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धकाे अविश्वास प्रस्ताव खारेज, संसद् भङ्ग गर्न सिफारिस