file photo

हेटौंडा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने बाहानाबाजी किमार्थ स्वीकार्य नहुने बताउनुभएको छ । आइतबार वक्तव्य जारी गर्नुहुँदै अध्यक्ष ओलीले वैशाखमा प्रतिनिधि सभाको चुनाव असल मनशाय नभई स्थानीय तहको चुनाव पर धकेलेर मुलुकमा राजनीतिक अन्योलता सिर्जना गर्ने कार्डको रुपमा आएको बताउनुभएकाे छ ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने नियतले गठबन्धन सरकार लोकतन्त्रको मर्ममाथि प्रहार गर्न उद्यत देखिएको भन्दै स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा नेकपा एमालेको स्पष्ट, द्विविधारहित र दृढ अडान रहेको र यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोखाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य नहुने उल्लेख गर्नुभएको छ ।
अध्यक्ष ओलीले वर्तमान सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो सङ्कटतिर धकेलिँदै गएको आरोप समेत लगाउनुभएको छ । अध्यक्ष ओलीले यस अवधिमा शक्ति पृथकीकरण र राज्यका अङ्गहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरू गम्भीर रूपले समस्याग्रस्त बनेको उल्लेख गर्नुभएको छ ।
उहाँले कोभिड महामारीविरुद्धको प्रतिकार्य लथालिङ्ग भएको वक्तव्यमा उल्लेख गर्नुभएको छ । अर्थतन्त्रका सबै सूचकहरूले गम्भीर अनिष्टको सङ्केत गरिरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पूर्ववर्ती सरकारले ल्याएका लोकप्रिय बजेटलाई विस्थापन गरेर नयाँ बजेट ल्याएको वर्तमान सरकारको कार्यकालमा विकासको गति ठप्प जस्तै भएको र नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाको विवरणले मुलुक आर्थिक सङ्कटतिर उन्मुख भएको दाबी गर्नुभएको छ ।

uml_Press-Statement-2078-10-09-1