काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।भट्टको निधनले मुलुकको प्रगतिशील क्षेत्रमा ठूलो क्षति पुगेको पूर्व प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
‘देशकै सम्मानित बौद्धिक व्यक्तित्व प्राध्यापक आनन्ददेव भट्टको निधनको खबरबाट असाध्यै दुःखी छु । उहाँको निधनले मुलुकको प्रगतिशील क्षेत्रमा ठूलो क्षति पुगेको छ’ ओलीले ट्विटमा उल्लेख गर्नुभएको छ । भट्टले प्रगतिशील आन्दोलनमा ठुलो योगदान गरेको स्मरण गर्दै ओलीले भट्ट प्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनमा धर्य धारण गर्न आग्रह गनुँहुँदै गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।साहित्यकार भट्टको ८६ वर्षको उमेरमा आज बिहान आफ्नै निवास कालिकास्थानमा निधन भएको थियो । भट्ट छ दशकभन्दा बढी समय नेपाली साहित्य र प्रगतिशील चिन्तनमा सक्रिय साहित्यकार हुनुहुन्थ्यो । मार्क्सवादी चिन्तन र बौद्धिक विमर्शमा क्रियाशील भट्ट लामो समयदेखि अल्जाइमर रोगबाट थलिनुभएको थियो । आनन्ददेव भट्टका काव्य, खण्डकाव्य, समालोचना र आत्मपरक निवन्ध लगायतका विधाका साँढे दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।