कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि देशभर नै मास्क वितरण अभियानलाई तीव्रता दिइएको छ । नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईँको मास्क खोइ ?’  अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अभियानमा वैशाख ६ यता सात लाख चार हजार ३७६ जनालाई मास्क वितरण गरि सकिएको छ । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सङ्क्रमणबाट ‘आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईँको मास्क खै ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई ७७ वटै जिल्लामा अभियानकै रुपमा सञ्चालन गरेको बताउनुभयो । सरकारले पनि सही रुपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न ‘नेपाल मास्क अभियान’ घोषणा गरिसकेको छ ।