मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरमा सुविधा सम्पन्न सभाहल निर्माण गरिएको छ । जिससको माथिल्लो तलामा मौजदात कोषबाट करीब ४५ लाखको लागतमा सुविधासम्पन्न सभाहल निर्माण गरिएको हो ।

एकसय जना अटाउने क्षमताको, भिडियो कन्फ्रेन्स समेत आयोजना गर्न मिल्ने नवनिर्मित सभाहलको शुक्रबार जिसस प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको छ । सभाहलको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले अन्य सरकारी कार्यालयलाई समेत उपयोग गर्न मिल्ने गरि भवन निर्माण भएको बताउनुभयो । उहाँले सभाहलको उचित प्रयाग हुनु पर्ने बताउनुभयो ।

यसैबीच जिल्ला समन्वय समिति मकवानपुरले आफ्नो आन्तरिक कार्यक्रम बाहेक हलको प्रयोग गर्दा शुल्क लिने निर्णय गरेको छ । आज बसेको बोर्ड बैठकले नवनिर्मित सभाहल एवम् पुरानो बैठक हलको सरसफाई तथा अन्य व्यवस्थापन गर्न सामान्य शुल्क लिने निर्णय गरेको छ । बैठकले पुरानो बैठक हल प्रयोग गर्नु परेमा एक हजार र नव निर्मित हलमात्र प्रयोग गर्दा तीन हजार तथा सो हलमा भिडियो कन्फ्रेन्स समेतको प्रयोग गर्दा थप दुई हजार गरी पाँच हजार शुल्क लिने निर्णय गरेको छ । बैठकमा जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, सदस्यहरु देवराज रिमाल, सिता अधिकारी, चित्रबहादुर बलामी, बुद्धिबहादुर मुक्तान, गणेशकुमारी श्रेष्ठ, सरिता विश्वकर्मालगायत कार्यालयका कर्मचारीहरुको उपस्थिती थियो ।












