मकवानपुर – आगामी आर्थिक वर्ष २०७८÷०७९ बजेट माथिको छलफलका लागि बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सरकारले बजेट ल्याएको १७ दिन पछि छलफलका लागि सभामुख सानुकुमार श्रेष्ठले आज दिउसो तीन बजेका लागि प्रदेशसभा बैठक बोलाउनु भएको हो ।
सभामुख सानुकुमार श्रेष्ठले रातो किताब सांसदहरूले प्राप्त गरेसँगै बैठक बोलाएको बताउनुभयो । बैठक नबस्दा बजेटमाथि छलफलसमेत रोकिएको थियो । असार १ मा आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गरेसँगै प्रदेशसभाको बैठक अनिश्चित समयका लागि स्थगन गरिएको थियो । प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । प्रदेश सरकारले चालु आवको बजेटको तुलनामा करिब १० प्रतिशतले वृद्धि गर्दै आगामी आवका लागि लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ । स्थानीय तहहरूको बजेट र प्रदेशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण बैठक बस्न नसकेको बताइए पनि बजेट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ एमालेभित्रै मतभेद सिर्जना भएपछि अनिश्चित बनेको बागमती प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।