हेटौंडा– काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी वितरण सुरु गरिएको छ । सरकारले फागु पूर्णिमाको दिन आज फागु पूर्णिमा (फागुमा रमाउदै गर्दा) उपहार स्वरुप मेलम्चीको पानी धारामा पठाएर होलीको उमङ्ग प्रदान गरेको हो ।

लामो प्रतिक्षापछि आइतवारदेखि मेलम्चीको पानी काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँका ग्राहकको धारामा आउन थालेको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड के यु के एल का निर्देशक मिलन शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा, महांकाल चौर शाखा प्रमुख उमेश मरहट्ठा र खानेपानी सञ्चालन विभागका प्रमुख सतिश दत्तले एकै साथ चाबी खोलेर भण्डारण गरिएको पानी वितरण प्रणालीमा पठाइएको हो । करिब २ लाख धारामा आजबाट खानेपानी वितरण शुरु गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । अहिले दैनिक चार करोड लिटर पानी आउन थालेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक शाक्यले जानकारी दिनुभयो । लामो प्रतिक्षा पछि सरकारले खानेपानी उपलब्ध गराएकोमा काठमान्डौं बासीका लागि साच्चै आजको दिन लड्डु खाने र रमाउने दिन हो ।