मकवानपुर– मकवानपुर जिल्लामा जेष्ठ पत्रकारलाई पेन्सन वितरण सुरु गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले नेपाल मै पहिलो पटक आफ्ना सदस्य रहेका जेष्ठ पत्रकारलाई मासिक पेन्सन वितरण सुरु गरेको हो ।
मकवानपुरका जेष्ठ पत्रकार नवराज शर्मालाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोमबार पेन्सन बापतको पहिलो पटकको रकम एक समारोहबीच हस्तान्तरण गर्नुभयो । करिब ४० वर्षसम्म पत्रकारिता गरेर निवृत जीवन बिताइरहनुभएका शर्मालाई चैत महिनाको ४ हजार रुपैयाँ पेन्सन रकम वितरण गरिएको हो । सो अवसरमा मेयर महतले आगामी दिनमा उपमहानगरले कोषमा रकम थप गरिदिने समेत बताउनुभयो ।
पत्रकार महासंघ मकवानपुर शाखाले ‘जेष्ठ पत्रकार पेन्सन कोष’ स्थापना गरेर २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँ पेन्सन दिने व्यवस्था गरेको छ । उक्त कोषको रकमको ब्याजबाट पेन्सन दिने व्यवस्था गरेको पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष हरि हुमागाईले बताउनुभयो । पेन्सन कोष स्थापना गर्न उपमहानगरले गत वर्ष १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । महासंघले कार्यविधि बनाएर कोष सञ्चालन गरेको छ । कार्यविधिमा सामाजिक सुरक्षा भत्ता, सरकारी निकाय, गैर सरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल भए पेन्सन नदिने व्यवस्था गरेको छ ।