फिफा विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमका ३३ खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत सोमबार र मंगलबार परिक्षण गरिएका ३४ खेलाडी मध्ये ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ । एन्फाले एक खेलाडीको भने पुनःपरिक्षण गर्नु पर्ने जनाएको छ ।
यस्तै एन्फाले परिक्षण गरिएका खेलाडीसहित प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीसहित ५४ मध्ये ५३ जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । फिफा विश्वकप छनोट र एसियन कप छनोटको प्रशिक्षण थाल्नु अघि एन्फाले कोरोना परिक्षण गराएको थियो । तर, टिमको प्रशिक्षण सुरु नभई स्थगित भएको हो । एन्फाले भदौ १ गतेबाट सुरु गर्ने भनेको टिमको प्रशिक्षण पनि अर्को सूचना नआएसम्मको लागि स्थगित गरेको जनाएको छ । विश्वकप छनोट र एसियन कप छनोट २०२१ सम्मको लागि स्थगित भएपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।











