युक्रेनमाथि आक्रमण सुरु गरेको १० महिनाभन्दा लामो समयपछि रुसले पहिलो पटक ३६ घण्टे युद्धविरामको घोषणा गरेको छ । ‘अर्थोडक्स’ इसाईहरुको क्रिसमस पर्वको अवसर पारेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आजदेखि लागू हुने गरी ३६ घण्टाका लागि युद्धविरामको घोषणा गर्नुभएको हो ।
जनवरी ७ तारिखमा ‘अर्थोडक्स’ क्रिसमस मनाइँदैछ । युक्रेनले अस्थायी युद्धविरामलाई अस्वीकार गरेको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखेलो पाडोल्याकले कब्जा गरेको युक्रेनी भूमि छाडेर रुसी सेना फिर्ता नभएसम्म कुनै पनि अस्थायी युद्धविराम नहुने बताएको बीबीसीले जनाएको छ । रुसले आफ्नो सुरक्षालाई थप बलियो बनाउने गरी युद्धविराम घोषणा गरेको हुनसक्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रमा युक्रेनी फौजलाई अगाडि बढ्नबाट रोक्न तथा आफ्ना थप फौज एवम् उपकरणहरू ल्याउने उद्देश्यका साथ पुटिनले युद्धविरामलाई अगाडि सारेको आरोप लगाउनुभएको छ । यसअघि टर्कीले रुसलाई युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न आग्रह गरेको थियो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा भइरहेको आक्रमण रोक्न तथा युद्धविरामको घोषणा गर्न आग्रह गर्नुभएको हो।











