फाइल फाेटाे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमालेले हार्न नहुने जिकिर गर्नुभएको छ । ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा आज बिहीवार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशको विकास र समृद्धिका लागि चुनावमा एमालेले हार्नै नहुने बताउनुभएको हो ।
‘यो चुनाव पहिलेको जस्तो सामान्य चुनाव होइन, यसको विशेष अर्थ र महत्त्व छ । लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि पनि यस पटक एमाले हार्न मिल्दैन’, अध्यक्ष ओलीले भन्नुभयो । देशको विकास गर्नका लागि एमालेबाहेक अर्को कुनै राजनीतिक शक्ति नभएको उहाँको जिकिर थियो । आउँदो मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा नेता तथा कार्यकर्तालाई मत वृद्धि र मत रक्षा गर्नसमेत आग्रह गर्दै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर चलेकाले पालिकामा ३८ लाख मत प्राप्त गरिएकोमा अबको चुनावमा ५० लाख मत पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिवालय सदस्य तथा भरतपुर महानगरका सहइन्चार्ज अञ्जन तिमिल्सेना, कालिका नगरपालिकाका उपाध्यक्ष तुलबहादुर विक, बाग्मती प्रदेश कमिटी सदस्य गिरिधारी सुवेदीलगायत एमालेमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीलाई पार्टी अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।