हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा १७ जना र उपमेयर पदमा ९ जनाले उमेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन कार्यालयका अनुसार आईतबार र सोमबार दुई दिनमा मेयर पदका लागि बिभीन्न राजनीतिक दलहरुका तर्फबाट १२ जना र ५ जनाले स्वतत्त्र उम्मेदवारी दिनु भएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हेटौंडाको मेयरमा नेकपा एमालेबाट अनन्त पौडेल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एस)को तर्फबाट मीनाकुमारी लामा, नेपालका लागि नेपाली पार्टीको तर्फबाट मुकुन्द प्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी (माले) बाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दिपा लामा, राप्रपाबाट दिपकबहादुर सिंहले मेयर पदमा उमेदवारी दर्ता गराउनुभएको छ । यस्तै नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौलाले उमेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै स्वतन्त्रबाट कबिराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको कार्यालयले जनाएको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिकाको उपमेयरका लागि नौ जनाले उमेदवारी दर्ता गराउनु भएको छ । विभिन्न राजनैतिक दलबाट आठ जना र एकजनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनु भएको कार्यालयले जनाएको छ । उपमेयरमा नेकपा एमालेबाट उपप्रमुख सुमित्रा काफ्ले, सत्तारुढ गठबन्धन (नेपाली कांग्रेस) को तर्फबाट राजेश बानियाँ, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख्खकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपाल शिवकुमारी पाठक, नेपाल कम्युनिस्ट पार्टी (माले) बाट अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट हरिहर खतिवडा , राप्रपाबाट इन्दिरा न्यौपाने र स्वतन्त्रबाट सुरज पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको कार्यालयले जनाएको छ ।