हेटौंडा – नेकपा एमाले मकवानपुरको तेस्रो पुर्ण कमिटीकाे आज (बुधबार) बसेकाे बैठकले स्थानीय तह निर्वाचन केन्द्रित विभिन्न निर्णय गरेकाे छ । जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा बसेकाे बैठकले आसन्न स्थानीय निर्वाचनका लागि जिल्लाका सबै पालिकाबाट आएको उम्मेदवारहरुको सिफारिस संकलन गर्ने, प्रदेश र केन्द्रमा सिफारिस गर्ने तथा गाउँपालिकाहरु र नगरपालिकाको वडाका उम्मेदवारहरुको सर्वसम्मत उम्मेदवारहरुलाई स्वीकृत गर्ने लगायत सिफारिस भएकाहरुलाई छनोट गर्ने जिम्मा पार्टीको जिल्ला इन्चार्ज, सह इन्चार्ज, जिल्ला पदाधिकारीहरुलाई जिम्मा दिइएको छ । यस्तै छनोट गरिएको उम्मेदवारहरुको नामावली जिल्ला सचिवालयमा पेश गरेर सचिवालय बैठकले स्वीकृत गर्ने निर्णय गरेकाे छ । जिल्लाबाट नगर र गाउँपालिकाहरुको वडाका उम्मेदवारहरुको छनोट गरि अनुमोदन गर्ने काम ४–५ दिनमा सम्पन्न हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै बैठकले अध्यक्ष श्रेष्ठको संयोजकत्वमा जिल्लाभर २५०१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । यस्तै निर्वाचन परिचालन कमिटीमा एमाले मकवानपुर जिल्ला सचिवालय सदस्यहरु, पालिका इन्चार्जहरु तथा २२ वडा जनबर्गीय संगठनबाट गरि ५५ सदस्यीय सचिवालय गठन गरिएको छ । यसैगरी, बैठकले स्थानिय तह निर्वाचनको आचारसंहिता पुर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै निर्वाचनलाई विश्वसनिय र धाधलीरहित बनाउनका लागि निर्वाचनमा सहभागी हुने जिल्लाका सबै पार्टीहरुलाई ध्यानाकर्षण गराउने तथा निर्वाचनमा सरकारी शक्ति, स्रोत र साधनको प्रयोगमा प्रतिबाद गर्ने निर्णय गरेकाे छ । बैठकले मकवानपुरमा रहेका एमालेका ९५०० संगठित सदस्यलाई निर्वाचन अवधिसम्म सकृय भई एमालेका उम्मेदवारहरुलाई जिताउन घरदैलो कार्यक्रम गर्न निर्देशन दिने निर्णय गरेकाे छ ।
यस्तै बैठकले जिल्ला सदस्य रहेका उत्तम शर्मा न्यौपानेलाई संगठन र पार्टीको हित बिपरित कार्य गरेको भन्दै साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने निर्णय गरेकाे छ । यस्तै परमादेशबाट बनेको गठबन्धन सरकार अन्तर्गत बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेटौंडा अस्पतालबाट अलग गरि अन्त सार्ने नियतले ल्याइएको अध्यादेश बिरुद्ध खेद प्रकट गर्ने तथा उक्त कार्यप्रति भर्त्सना जनाउने, सिंगो मकवानपुर जिल्लाबासीहरुको हित बिपरित गरिएको कुटनैतिक चालको भण्डाफोर गर्ने, तथा प्रतिष्ठान जुन उद्देश्यले मकवानपुरमा स्थापना गरिएको छ सो को परिपुर्ति गर्न पार्टीको तर्फबाट जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने निर्णय गरेकाे अध्यक्ष श्रेषठले बताउनुभयाे ।











