काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेखित नेपालको नक्सा भारतमा रहेकाे नेपाली दूतावासमा नभएको भन्दै आपत्ति जनाउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएकै बेला नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा नभइ बुच्चे नक्सा भएको उल्लेख गर्दै आपत्ति जनाउनुभएको हो ।
आज आइतवार नेपाल बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय अधिवेशनमा बोल्दै उहाँले देशको नक्सा नै गायब बनाउने योभन्दा अरू राष्ट्रिय लज्जाको विषय अरू केही नहुने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीले प्रकाशित गरेको सरकारको सय दिनमा चुच्चे नक्सा हटाउने काम भयो । के यो साधारण कुरा हो ? भौगोलिक अखण्डताप्रतिको खेलबाड । हिजोमात्रै भारतको दिल्लीमा रहेकाे नेपाली दूतावासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रको शिर निहुँर्‍याउने, योभन्दा लज्जाजनक कुरा के हुन्छ ? शेरबहादुरजी राष्ट्रिय बेइमानीका लागि दिल्ली जानुभएकाे हो ? फर्किनु अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो सरकारले बनाएर संविधान संशोधन गरेर राखेको नक्सा झुन्ड्याएर फर्किनु हुन्छ कि हटाएर फर्किनु हुन्छ ? शेरबहादुरजी ।’ अध्यक्ष ओलीले आफ्नै पार्टीको सरकार हटाएर कांग्रेसको पछिपछि लागेको भन्दै प्रचण्ड र माधव नेपालहरूलाई कटाक्ष पनि गर्नुभयो । अध्यक्ष ओलीले आफ्नै सरकार र सिङ्गै मन्त्रालय हुँदा उनीहरूले आफूलाई कामै गर्न नदिएको पनि दोहोर्‍याउनुभयाे । ओलीले वर्तमान सरकारले देशकाे अर्थतन्त्रसमेत ध्वस्त बनाएको दाबी गर्नुभयो ।