फाइल तस्विर

मकवानपुर– गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीबन्दीको कैद सजाय माफि मिनाहा गरेको छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न मुद्दामा दोषी ठहर भई बन्दी जिवनमा असल आचरण प्रस्तुत गरेका, ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका व्यक्तिको कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिनुभएको हो ।
यसै क्रममा मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदी कारागारका एक बालबन्दीसहित ८ जनालाई कैदमाफी दिइएको छ । भीमफेदी कारागार कार्यालयले सिफारिस गरेका १५ जना मध्ये ८ जनालाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आज कैदमाफीको निर्णय गर्नुभएको हो । कैद माफी पाउनेमा हेटौंडा–१७ का रुपेश नेपाल, सर्लाहीका अब्बु मोहम्मद अन्सारी, नवलपुरका मानबहादुर महतो, बर्दियाका केशवबहादुर भुजेल, गुल्मीका नरबहादुर सार्की, काभ्रेका रोमन लामा र महोत्तरीका टंकबहादुर खड्का रहेको भीमफेदी कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिनुभयो । भीमफेदी कारागारमा अहिले ९६० जना कैदीबन्दी रहेका छन् ।