मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश २ बाट राजधानी हेटौंडा प्रवेशमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । प्रदेश राजधानी हेटौंडा छिर्ने मुख्य नाका चुरीयामाई नजिकै हिजोबाट स्थापना भएको प्रहरी क्याम्पको अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले कडाई गर्न निर्देशन दिनुभएको हो ।
प्रदेश २ बाट हेटौंडा प्रवेश गर्नेलाई रोक्न हिजोबाट नाकामा प्रहरी तैनाथ गरेर थप कडाइ गरिएको छ । मुख्यमन्त्री पौडेलले बिशेषगरी प्रदेश २ का बारा, पर्षा, रौतहट लगायतका जिल्लाबाट प्रवेश गर्नेलाई कडाई गर्न निर्देशन दिनुभएको हो । ती जिल्लाहरुमा कोरोना संक्रमणको फैलने क्रम बढ्दै गए पछि नाकामा कडाइ गर्न उहाँले निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलीयाले जानकारी दिनुभयो । मुख्यमन्त्री पौडेलले तराइका जिल्लाबाट साना सवारीका साधन, एम्बुलेन्समा, खाद्यान्नका गाडिमा चढेर आउनेहरुलाई हेटौंडा प्रवेश गर्न नदिन प्रहरीलाई निर्देशन दिनुभएको उहाँले जानकारी दिनुभयो । ती जिल्लाहरुबाट एम्बुलेन्समा समेत चढेर आउने क्रम बढेपछि कडाई गर्न ससस्त्र र जनपथ प्रहरीलाई निर्देशन दिनुभएको उहाँले वताउनुभयो ।
यता, हेटौंडा बजारमा आजबाट साना तथा मझौला यातायात संचालनमा पुर्ण रोक लगाईएको छ । हेटौंडा बजार क्षेत्रमा मोटरसाईकल, स्कुटर, अटो÷मयुरी, तथा चारपाङग्रे साना सवारी साधनलाई समेत संचालनमा रोक लगाइएको छ । त्यस्तै वजार क्षेत्रमा खाद्यान्न, औषधी, बिउविजन, ग्यास र रासाायनिक मलको पसल वाहेक अन्य पसलहरु अर्को निर्णय नभए सम्मका लागि वन्द गर्ने निर्णय गरेको छ । खाद्यान्न र ग्यास पसल बिहान ९ बजे सम्म, तथा औषधी, बिउविजन, र रासाायनिक मलको पसल दिनै भरी खुल्ला राख्ने र अन्य पसलहरु संचालनमा रोक लगाइएको जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभएको छ । साथै संक्रमित जिल्लाबाट तरकारी तथा माछामासु जन्य सामग्रीको आयात समेत पुर्ण रुपमा रोक लगाईएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै मकवानपुरमा संक्रमणको जोखिम बढ्ने सम्भावनालाई मध्येनजर गर्दै जिल्लामा लकडाउनलाई थप प्रभावकारी बनाउन र नागरिक निगरानी बढाउन आव्हान गरिएको छ । आम जिल्लाबासीलाई पछिल्लो हप्ता वा सो भन्दा अगाडी कोहि पनि व्यक्ति बाहिरबाट आफ्नो टोल छिमेकमा आएको भए तीनिहरुको निगरानी गर्न साथै उनिहरुको बारेमा स्थानीयतहका जनप्रतिनिधिहरु, वडाअध्यक्ष, स्वास्थ्य संस्था, टोल विकास संस्था वा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन आम मकवानपुरवासीलाई आव्हान गरिएको प्रमुख खुलालले जानकारी दिनुभयो ।