मकवानपुर– मकवानपुरमा पुनःनिर्माणमा पारदर्शिता कायम गर्न विगत चार वर्षदेखि ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार’ कार्यक्रम जारी रहेको छ । भूकम्प अतिप्रभावित मकवानपुरसहित १४ जिल्लामा नीति–निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहकार्य गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) नेपालले विसं २०७३ देखि सञ्चालन गरेको कार्यक्रमले पारदर्शिता कायम गर्न सहयोग गरेको छ । जिल्लामा पुनःनिर्माणमा सदाचार कार्यक्रम निकै प्रभावकारी समेत भएकाे छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा सरकार, स्थानीय तह र साझेदार संस्थाबाट भएका पुनःनिर्माण र पुनःस्थापनाका कार्यमा जबाफदेहीता, पारदर्शिता र गुणस्तर कायम गर्ने उद्देश्यले कार्यक्रम भइरहेको टीआइ नेपालका मकवानपुर संयोजक प्रमिला थिङले जानकारी दिनुभयो । पुनःनिर्माणसम्बन्धी सरकारी नीति र कार्यक्रममा पारदर्शिता बढाउने, शैक्षिक संस्थाको पुनःनिर्माण समयमै र गुणस्तरीयरूपमा सम्पन्न गर्ने, पुनःनिर्माणसम्बन्धी सार्वजनिक खरिद पारदर्शी र जवाफदेही बनाउन प्रयास गर्ने टीआइ नेपालको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
यसैगरी पुनःनिर्माणमा नागरिक समाजको संलग्नता र चासो बढाउने, सञ्चार क्षेत्रको सहयोग लिई पुनःनिर्माणसम्बन्धी सूचना सम्प्रेषण गर्ने, पुनःनिर्माणसम्बन्धी वित्तीय प्रतिवेदनमा नागरिक पहुँच बढाउने, व्यावसायिक र नागरिक सङ्घसंस्थाको पुनःनिर्माणसम्बन्धी प्रयास पारदर्शी बनाउन टीआइ नेपालले भूमिका निर्वाह गरेको छ । पुनःनिर्माणसम्बन्धी सेवा प्रवाहमा युवा र विद्यार्थीको संलग्नता बढाउने, पुनःनिर्माणको गुणस्तरमापन गर्न सहकार्य गर्ने र भूकम्पपीडितको गुनासो सङ्कलन र सम्बोधनमा सहजीकरण गर्ने काम मकवानपुरमा भइरहेको समेत उहाँले बताउनुभयो । टीआइ नेपालले मकवानपुरका स्थानीय तहका वडास्तरसम्म पुगेर स्थलगतरूपमा अनुगमन गरी काम गरिरहेको छ । हालसम्म जिल्लामा ८६ प्रतिशत लाभग्राहीको सम्झौता भएको छ । भने सम्झौता भएका मध्ये ८५ प्रतिशतले पहिलो किस्ता, ७० प्रतिशतले दोस्रो किस्ता र ५५ प्रतिशतले तेस्रो किस्ता अनुदान प्राप्त गरेको भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई मकवानपुरले जनाएको छ । साथै प्रबलीकरण तर्फ हाल सम्म ६४ प्रतिशतले मात्र सम्झौता गरेको इकाई प्रमुख बिमल केपीले बताउनुभयो ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गरेका कार्यक्रमले पुननिर्माणमा सदाचार कायम गर्न मद्धत पुगेको छ । भने भुकम्प पुननिर्माणमा ऐलानी जग्गा सम्बन्धी समस्यालगायत अन्य समस्या समाधान गर्न र लाभग्राहीलाई सहज भएको छ । टीआई नेपालले भूकम्पछिको पुनःनिर्माण र पुर्नस्थापनामा सदाचार कार्यक्रम अन्र्तगत भाद्र २४ गते मनहरी गाँउपालिका वडा नम्बर ७ मा आयोजना गरेको सार्वजानीक सुनवाई कार्यक्रमले सो वडाका भुमिहीन लाभग्राहीको समस्या समाधानमा सहयोग पुगेको थियो । टीआई नेपालले जनसहभागिको सवाल सम्बन्धीत निकायको जवाफका साथ आयोजना गरेको कार्यक्रममा पुनर्निर्माण सम्बन्धी उपस्थित भुकम्प पिडितहरुले आफुले भोग्दै आएका समस्या, राज्यको परिवर्तित नितीगत समस्या, ऐलानि जग्गाको समस्याका कारण अनुदान सम्झौता गर्न नसक्नु जस्ता गुनासोको सम्बोधन गरिएको थियो । उक्त वडा मनहरी गाउँपालिकाको सबै भन्दा बढी ऐलानी जग्गामा बसोवास गर्ने लाभग्राही भएको वडा हो ।
कार्यक्रममा भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई मकवानपुरका प्रमुख केपीले ऐलानी जग्गामा बसोबास गर्ने भुकम्प पिडितहरुको हकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७५ माघ २१ मा गरेको निर्णयमा रहेर प्रतिनिधि सभाका सासंदको नेतृत्वमा रहेको जिल्ला समन्वय समितीले २०७६ बैशाख १८ मा बसेको बैठकको निर्णयले वडाका पहिलो चरणको बैठकमा ११४ र दोस्रोमा ८ जना गरि १२२ जना लाभग्राहीहरुले यथास्थानमा घर पुनर्निर्माण गर्न पाउने र्निणय भईसकेको र ति नामावली गाँउपालिकामा पठाई सकेको हुदाँ अनुदान सम्झौता प्रक्रिया अघि बढाउन समेत अनुरोध गर्दै बाकी रहेका २६५ जना ऐलानि जग्गामा बसोबास गर्ने पिडितहरुको कागजात संकलन गरि सम्बन्धीत निकायमा पेश गर्ने र पुनर्निर्माणको समय अवधिलाई ध्यानमा राखि काम गर्न वडा लगाएत प्राविधीकहरुलाई समेत अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष ठाकुर सिंह तितुङ्गले भुकम्प पिडितहरुले सहज र सरल तरीकाले अनुदान रकम समयमा नै लिन सकुन भन्ने चहाना रहेको भन्दै वडाका १२२ लाभग्राहीहरुले यथास्थानमा घर पुनर्निर्माण गर्न पाउने गरि भएको र्निणय अनुसार अनुदान सम्झौता प्रक्रिया तुरुन्त अघि बढाउने र बाकी लाभग्राहीहरुको कागजात छिटो संकलन गरि पेश गर्नै प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । जुन टीआई नेपालले आयोजना गरेको सार्वजनकि सुनुवाईकै कारण सम्भव भएको हो । यसलाई संस्थाले वडा अध्यक्ष आफ्नो कार्य प्रति जवाफदेहि रहेको देखिएकाले सफलताको रुपमा लिएको थिङले बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानीय तहहरुमा ऐलानी जग्गा भएका कारण सम्झैता गर्न बाँकी लाभग्राही मध्ये हाल सम्म ४ हजार ९ सय १६ जनाको घर निर्माण सम्बन्धी निर्णय समेत भईसकेको भुकम्प पुन निर्माणका लागि जग्गा प्राप्ती सम्बन्धी काम गर्ने संस्था दिगो समाधानकी फुलमाया लामो बताउनुभएको छ । हाल सम्म जिल्ला समन्वय समितिबाट ४ हजार ९ सय १६ जनाको घर निर्माण गर्न सम्झैता गर्ने निर्णय भएको तथा ४१ जना लाभग्राहीले जग्गा खरिद समेत गरिसकेको र २२ जनाको प्रकृयामा रहेको उहाँले बताउनुभयो । अझै पनि जिल्लामा २६५ जना साविककै ठाउँमा घर निर्माण गर्न पाउँ भन्ने लाभग्राहीहरु रहेको भन्दै उहाँले ऐलानी जग्गा समबन्धी समस्या समाधानमा टीआई नेपालले निकै सहयोग गरेको बताउनुभयो । अहिले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण पुनःनिर्माणका काम पनि प्रभावित भएकोले काम अगाडी बढ्न नसकेको समेत उहाँले बतउानुभयो ।