हेटौंडा– मकवानपुरगढी गाउँपालिकाको बाढी प्रभावित क्षेत्रमा अनुगमन गर्न मकवानपुरबाट प्रतिनिधित्व गर्ने सांसद दम्पती गाउँ पुगेका छन् । मकवानपुरगढी वडा नं. ६ मा रहेको डुम्रेकुना, झल्ला, वडा नं. ३ को धमिले फाँट, वडा नं. ५ को भागरथीखोलालगायतका बाढी प्रभावित क्षेत्रमा प्रतिनिधिसभा सदस्य विरोध खतिवडा र प्रदेशसभा सदस्य मुनु सिग्देलले निरीक्षण गरेका छन् । उक्त क्षेत्रमा २ सय ५० घरधुरी बाढी प्रभावित छन् । मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले बाढी प्रभावित क्षेत्रमा बस्ती संरक्षणको प्रमुख समस्या भएको बताएका छन् । उनले यहाँको बस्ती र खेतियोग्य जग्गा संरक्षण गाउँपालिकाकै मुख्य समस्या भएको बताएका छन् ।

अध्यक्ष हुमागाईंले दैविक प्रकोपले वर्षेनी स्थानीयलाई पीडित बनाए पनि शिवम् सिमेन्टको खानी उत्खनन् क्षेत्रले गर्दा अझै ठूलो समस्यामा स्थानीयहरु रहेको बताएका छन् । शिवम्ले बस्ती संरक्षणको काम वर्षा अगावै नगर्ने र वर्षाले प्रभावित बनाएपछि गर्ने गरेको भन्दै स्थानीयले गुनासो पोखेका थिए । असार २७ गते आएको भिषण बाढीले डुम्रेकुनाको ड्याम भत्काएको छ । बाँधसँगै बनाएको तारजालीपनि बाढीले भत्काएको छ भने खेतीयोग्य जमिनमा बाढी पसेको थियो । बाढीले बाँध कट्टान गर्न थालेपछि स्थानीयलाई स्कुलमा सारिएको वडा अध्यक्ष टिकाप्रसाद दहालले बताए । धमिले फाँटमा पनि खेतियोग्य जग्गामा बाढी पसेको थियो ।

प्रतिनिधिसभा सदस्य खतिवडाले मकवानपुरगढीको वस्ती संरक्षणको लागि आफूले प्रथामिकताका साथ बजेटको व्यवस्था गर्न पहल गर्ने स्थानीयलाई बताएका छन् । उनले कंक्रिटलगायतका ड्याम निर्माण गर्न करिब १० देखि १५ करोड बजेट छुट्याउन आफ्नो विशेष पहल हुने आश्वासन दिएका छन् । सोही क्षेत्रमा यसअघि पनि विरोध खतिवडाले वस्ती संरक्षणको लागि बजेटको व्यवस्था गरेका थिए । खतिवडाले बाढी पीडित भएर बस्नु नपर्ने भन्दै स्थानीयहरुको दुःखमा आफू साथ रहेको बताए । प्रदेशसभा सदस्य मुनु सिग्देलले प्रदेश सकारको बजेटमार्फत उपलब्ध गराएको बजेटले गाउँ जोगिएको भन्दै स्थानीयले धन्यवाद दिएका थिए । सिग्देलले प्रदेश सरकारको तर्फबाट फेरि पनि वस्ती संरक्षणको लागि बजेटको व्यवस्था गर्ने विश्वास दिलाएकी छिन् ।