बद्री पाठक –
विषय प्रवेश– शिक्षा क्षेत्रमा साढे दुई दशक काम गरेको एउटा शिक्षाकर्मी र अध्ययनरत विद्यार्थीको हिसावले सोच्दा एउटा शैक्षिक संस्थामा कति सङ्ख्यामा विद्यार्थी अध्ययन गरेका छन् होला भन्ने जान्न खोज्नु वा जिज्ञासा उत्पन्न हुनु स्वभाविकै होला । गतवर्ष मकवानपुर जिल्लाको वंशगोपाल माध्यमिक विद्यालयको टिमसंग रुपन्देही जिल्लामा अवलोकन भ्रमणमा जाने अवसर प्राप्त गर्दा त्यस्तो धेरै विद्यार्थी सङ्ख्या भएका विद्यालयको बारे चर्चा चल्यो । त्यसैको खोजीमा इन्टरनेटमा खोज्दै जाँदा विश्वको सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालयको विद्यार्थी र शिक्षक, कर्मचारी सङ्ख्या हेर्दा एउटा नयाँ जिज्ञासा उत्पन्न भयो । के हामी त्यस्तै प्रकृतिको ठूला विद्यालय स्थापना गर्न सक्छौं ? के गर्दा त्यति धेरै विद्यार्थी जुट्न सक्दछन् ? हाम्रा शैक्षिक संस्थामा कसरी धेरै भन्दा धेरै विद्यार्थी बढाउन सकिन्छ ? हाम्रा सामुदायिक शैक्षिक संस्थाप्रति समुदायको अपनत्व र विश्वास कसरी जित्न सकिन्छ भन्ने कुराको खुलदुली निरन्तर भइरहेको छ । हाम्रा शैक्षिक संस्था विशेष गरी सामुदायिक विद्यालयहरुमा केही अपवाद बाहेक दिन प्रतिदिन विद्यार्थी सङ्ख्या घट्दै गएको अवस्था छ । हाम्रा सामुदायिक शैक्षिक संस्था अभिभावकको रोजाइमा प्राथमिकतामा पर्न सकेका छैनन् । सामुदायिक शैक्षिक संस्थाको क्रियाकलाप, समुदायको विद्यालय र शिक्षकप्रतिको बुझाई, विद्यार्थी सिकाइ उपलव्धी स्तर अपेक्षा गरेको जस्तो छैन । शिक्षाका सरोकारवालाहरु एकले अर्कोलाई दोष दिएर जिम्मेवारीबाट उन्मुक्त भैरहेका छौ । यिनै विषयहरुलाई सान्दर्भिक बनाई यस छोटो लेखमा केही विषयबस्तु उल्लेख गर्ने प्रयास गरिएको छ ।
विद्यार्थी धेरै भएको विद्यालय–
हाम्रो छिमेकी देश भारतको लखनउमा सन् १९५९ मा गान्धी परिवारका सदस्य डा. जगदीस गान्धी र भारती गान्धीबाट स्थापित सिटी मन्टेश्वरी स्कूल विश्वको धेरै विद्यार्थी र शिक्षक भएको विद्यालय रहेछ । सुन्दा पत्यार नलाग्न सक्छ, गरे सकिन्छ र गर्ने मानिसले नै हो भन्ने उदाहरण त्यस विद्यालयले प्रदान गरेको रहेछ । पाँच जना बालबालिकाबाट शुरु गरिएको विद्यालयमा मन्टेश्वरीदेखि कक्षा १२ सम्म हाल छपन्न हजार विद्यार्थी र चार हजार सात सय शिक्षक कार्यरत रहेका छन् । “वसुधैव कुटुम्बकम्” को मूल मन्त्रसाथ शिक्षाको माध्यमबाट ज्ञान, वुद्धि, सीप र आध्यात्मिक चिन्तन प्रदान गरी विश्वस्तरको सक्रिय नागरिक तर्जुमा गरी सेवा प्रवाह गर्नु उक्त शैक्षिक संस्थाको दृष्टिकोण रहेको छ । पूर्वप्राथमिक कक्षामा Encouragement, Environment and Examples of adults गरी 3Es को लक्ष्य राखेको छ भने प्राथमिक तहमा Confidence, Competency in core subject, Caring and Compassion गरी 3Cs लक्ष्य राखिएको छ । त्यस्तै गरी जुनियर कक्षा अर्थात निमा तहको कक्षामा Expression, Exchanges, Exposure and Events गरी 4Es को लक्ष्य राखिएको छ भने सिनियर कक्षा वा माध्यमिक कक्षामा Preparation for a life of service, Proficiency in English, Pleasing personality, performance in the Boards and Praiseworthy character गरी 5Ps को लक्ष्य राखिएको विद्यालयका सामग्री अध्ययन गर्दा जानकारी हुन्छ । विश्वव्यापी मूल्य, मान्यता, बुझाई, मानवीय सेवा र उत्कृष्टता प्रदान गर्न विद्यार्थीलाई प्रत्येक तहदेखि नै लक्ष्य निर्धारण गरी शिक्षण सिकाइ, अतिरिक्त कार्यकलाप, समुदाय सहकार्य गरी अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने बनाइएको छ । Education for world citizenship भन्ने मूल नाराका साथ यस विद्यालयले आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको छ । विद्यालयको सन् २०१९–२० को Prospectus हेर्दा हरेक दृष्टिले विद्यालय विश्वकै उत्कृष्ट शैक्षिक संस्था रहेको देखाउछ ।
असल वा राम्रो विद्यालयको चर्चा गर्दा धैरको ध्यान भौतिक सुविधातर्फ मात्र केन्द्रीत हुने गरेको पाइन्छ । सामान्यतया एउटा शैक्षिक संस्था राम्रो हुन धेरै पक्षको संयोजन हुन जरुरी पर्दछ ।त्यसका भौतिक, आर्थिक, शैक्षिक, प्रशासनिक, समुदाय सम्बन्ध र विद्यार्थी नतिजालाई राम्रो विद्यालयका पक्षसंग जोडिएको हुन्छ । शैक्षिक संस्थाले अभिभावकप्रति दिलाउने विश्वास र अभिभावकको चाहना र समयानुकूल प्रदान गरिने प्रतिष्पर्धात्मक शिक्षाले पक्कै पनि शैक्षिक संस्थालाई अव्वल बनाउने गर्दछ । सामान्यतया शैक्षिक संस्था प्रभावकारी हुन उक्त संस्थामा नेतृत्व के, कस्तो र कसरी प्रदान गरिएको छ तथा नेतृत्वले अरु सहयोगी, शिक्षक र विद्यार्थी तथा अभिभावकलाई कसरी विश्वास जितेको छ त्यसमा धेरै पक्ष निर्भर गर्दछ । त्यस्तै गरी राम्रो वा असल संस्थाले उच्च अपेक्षा अनुसार कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ । संस्थाको दूरदृष्टि, लक्ष्य, उद्देश्य र त्यसका आधारमा सम्पादन गरिने कार्यकलापहरुले संस्थाको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्दछ । शैक्षिक संस्थामा सुरक्षित, स्वस्थ र सहयोगात्मक सिकाइ वातावरण छ वा छैन त्यसका आधारमा समेत विद्यालयको प्रभावकारिता निर्भर गर्दछ । सिकाइ क्रियाकलापको निरन्तर मूल्याङ्कनको प्रयोगलाई समेत असल विद्यालयसंग जोडिएको हुन्छ । विभिन्न सामग्रीहरु अध्ययन गर्दा शैक्षिक संस्था राम्रो हुन वा प्रभावकारी हुन त्यस्ता संस्थामा निम्न विशेषताहरु हुनपर्ने उल्लेख गरेका छन् । – स्पष्ट दृष्टिकोण, लक्ष्य तथा उद्देश्य किटान भएको – प्रअबाट उच्च नेतृत्वदायी भूमिका निर्वाह भएको – योजनावद्ध सार्थक शिक्षण सिकाइमा केन्द्रीत रहेको – अभिभावकको सक्रिय सहभागिता भएको – शिक्षक विद्यार्थीको उच्च अपेक्षा भएको – प्रशासन र अभिलेख व्यवस्थापन चुस्त दुरुस्त रहेको – प्रोत्साहित रुपमा सिक्ने सिकाउने संस्कृति र वातावरण भएको – अतिरिक्त कार्यकलाप र सहकार्यकलाप सिकाइसंग जोडिएको – सुरक्षित भौतिक तथा मानवीय वातावरण रहेको – शिक्षकको पेशागत विकास र प्रोत्साहनका व्यवस्था भएको – समुहकार्य र सहयोगात्मक संस्कार रहेकोउपलव्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरेको – सम्बन्धित निकाय र अभिभावकबीच समन्वय र उचित सञ्चार हुने गरेको – निरन्तर मूल्याङ्कन र पृष्ठपोषण उपलव्ध गर्ने गरेको – जिम्मेवारीको वाँडफाड र उत्तरदायित्ववोध हुने गरेको – व्यवहारिक सिकाइ र उच्च नतिजा प्राप्त हुने गरेको
माथि उल्लिखित प्रभावकारी विद्यालयका विशेषताहरु हाम्रा विद्यालयहरुमा कार्यान्वयन गरिएका छन् वा हाम्रा विद्यालयको अवस्थामा यी वुदाँहरु लागु गरिएका छन् । यसतर्फ विचार गर्ने हो भने सामुदायिक विद्यालयतर्फ थोरै विद्यालयहरुले मात्र प्रयोगमा ल्याएका छन् । हाल घट्दो जनसङ्ख्या वृद्धि दर, बसाइ सराई, अंग्रेजी शिक्षा प्रतिको मोह जस्ता कारणले हाम्रा सामुदायिक शैक्षिक संस्थामा वर्षेनी विद्यार्थी सङ्ख्या घट्दो अवस्थामा छन् । सामुदायिक शैक्षिक संस्थालाई अभिभावकको रोजाइको केन्द्र बन्न र बनाउन सकिएको छैन । त्यस्तैगरी नक्साङ्कनका आधारमा विद्यालय स्थापना नगरी माग र पँहूचका आधारमा मात्र विद्यालय स्थापना गर्दा पुराना विद्यालयमा बाहेक नयाँ स्थापना गरिएका विद्यालयमा शिक्षक दरवन्दी परिपुर्ति हुन सकेको छैन । दरवन्दी भएका पुराना विद्यालयमा समेत अपेक्षा गरिए अनुसारको शिक्षण सिकाइ र नतिजा प्राप्त हुन सकेको पाइदैन । कुनै विद्यालय भौतिक अवस्थाको कारणले कमजोर छ भने कुनैमा भौतिक अवस्था राम्रो भएपनि शैक्षिक नेतृत्वका कारणले सफल हुन सकेका छैनन् । त्यस्तै गरी कुनैमा अभिभावकको सहयोग रचनात्मक रहेको देखिदैन भने कुनैमा विद्यालय व्यवस्थापन समितिका कारण राम्रो हुन सकेको पाइदैन । यति हुदाँहुदै पनि पछिल्लो समयमा प्रत्येक जिल्लामा सामुदायिक विद्यालयले केही न केही सकारात्मक प्रयासहरु थालनी गरेका छन् । सामुदायिक विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समिति र शिक्षकले गरेको सकारात्मक प्रयास कै कारण देशकै धेरै विद्यार्थी भएको कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलमा हाल ६५५७ विद्यार्थी अध्ययनरत छन् । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म ७७ जिल्लाका केही सङ्ख्याका विद्यालयहरुले सामुदायिक विद्यालयलाई नमूना बनाउन र राम्रो विद्यालय बनाउन सार्थक प्रयासको थालनी गरेका छन् जसको कारण अभिभावकको रोजाईमा ती विद्यालय पहिलो प्राथमिकतामा परेको छ । यस छोटो लेखमा सबै जिल्लाको त्यस्ता विद्यालयको नाम उल्लेख गर्न सकिएन यद्यपी प्रत्येक जिल्लामा असल वा राम्रो विद्यालय बनाउने प्रयासहरु भएका छन्, जुन सह्रानीय कार्य हो । विशेष गरी सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न गई विद्यालय गाभ्नुपर्ने अवस्थामा यस्ता प्रकृतिका विद्यालयले थालनी गरेका कार्यले पक्कै पनि शिक्षाकर्मी र अभिभावकमा आशाको सञ्चार गरेका छन् ।
असल विद्यालय निर्माणमा खेल्नुपर्ने भूमिका–
हामी आफु नगर्ने अनि अरुप्रति पनि विश्वास गर्न नचाहने वा नसक्ने बानीमा रमेका छौ । कामको सवालमा हामी अरुप्रति कमै विश्वास गर्छौ । यस्तो अवस्थामा एक्कासी सकारात्मक परिवर्तन हुन सक्दैन र अपेक्षा पनि गर्न सकिन्न । सकारात्मक परिवर्तनका लागि व्यक्तिले अरुले गरेको असल काम सुन्नु र हेर्नुपर्दछ । हाम्रा शैक्षिक संस्थामा हालको विद्यार्थी सङ्ख्यामा बढोत्तरी ल्याउन, अभिभावकको मन जित्ने बनाउन, बालमैत्री सिकाइ मार्फत सिकारुलाई सक्रिय बनाउन, टिमको भावना विकास गर्न र नतिजा उच्च आउने बनाउन हाल गरि आएको कार्य प्रणालीमा नयाँ तरिकाले सोच्न र काम गर्न जरुरी हुन्छ । भैरहेको वा गरिरहेको कामबाट मात्र गुणात्मक परिवर्तन सम्भव हुदैन यसका लागि सामुदायिक संस्था जसले सकारात्मक परिवर्तन गर्न लागेका छन् ती विद्यालयहरुले निम्न कार्य गरेमा पक्कै राम्रो वा असल विद्यालय बनाउन सकिन्छ । क) विद्यालयको सवल, कमजोर, अवसर र चुनौतिका बारेमा सरोकारवालाहरुबाट विश्लेषण गर्ने ।ख्) विद्यालयको आवश्यक्ता पहिचान गरी प्राथमिकीकरण गर्ने । ग) दीर्घकालीन सोच, लक्ष्य र उद्देश्य तयार गर्ने । घ) लक्ष्य र उद्देश्यका आधारमा रणनीति कार्यनीति र कार्यक्रमहरु निर्धारण गर्ने । ङ) स्थानीय तहका पदाधिकारी सहित अभिभावकको उपस्थितिमा कार्यकलाप र जिम्मेवारी किटान गर्ने। च) उपयुक्त पात्रलाई उपयुक्त जिम्मेवारी प्रदान गर्ने । छ) विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक व्यवस्थापनका लागि सम्बन्धित निकायले ध्यान दिने । ज) शिक्षण सामग्री सहितको बालमैत्री शिक्षण सिकाइ क्रियाकलापमा जोड दिने । झ) शिक्षक प्रोत्साहन र पेशागत विकासका कार्यलाई आवश्यक्ता र औचित्यका आधारमा गर्ने । ञ) विषयगत सिकाइ उपलव्धीप्रति शिक्षक जिम्मेवार बन्ने । ट) अभिभावकको सहभागिता जुटाउन विद्यालयमा आफ्ना छोराछोरीका सिकाइसंग आवद्ध गराउने । ठ) उपलव्ध सामग्रीको प्रयोग र संरक्षणमा विशेष जोड दिने । ड) सहयोगात्मक संस्कारको विकास गराउने । ढ) प्रत्येकलाई सम्मान हुने वातावरण सिर्जना गर्ने । ण) विद्यालयले सम्पादन गरेका असल अभ्यासहरुलाई प्रचार प्रसार र अभिभावकलाई सुसुचित गराउने । त) नजिकका विद्यालयहरु एकै स्थानमा एकीकरण गरी ठूला विद्यालय बनाउन पहल गर्ने ।
कुनै पनि संस्था प्रगति पथमा बढाउन सकारात्मक सोच, दृढ आत्मविश्वास र प्रतिवद्धता मूल पक्ष हुन् । संस्थाको नेतृत्वमा रहने पदाधिकारीको कार्य व्यवहार, सिर्जनसिलता र नवप्रवर्तनले सधैभरी सहयोगीहरुलाई प्रोत्साहित गरिरहन्छ । हाम्रा विद्यालयहरुका जे जति उपलव्धी र कमजोरी छन् त्यसलाई आत्मसात गरी स्वीकार गनुपर्दछ । हामी आफैले वास्तविकतालाई स्वीकार गर्न नसक्ने अवस्थालाई चिर्नुपर्दछ र फरक तरिकाले सोचको विकास गरी उपलव्ध भएका कुराबाट नभएको कुरातर्फ अगाडि बढ्न सकेमा पक्कै हाम्रा शैक्षिक संस्था राम्रा वा असल बनाउन सकिन्छ । विद्यालय भित्र र बाहिर सरोकारवालाबीच आपसी छलफल, सबै तहका सरकारको शिक्षाप्रतिको प्राथमिकता, अभिभावकको रचनात्मक सहयोग, शिक्षकको सिकाइप्रतिको प्रतिवद्धता र नेतृत्वले गर्ने समन्वयबाट पक्कै ठूला विद्यालय, धेरै विद्यार्थी र नतिजा उच्च आउने बनाउन सकिन्छ । यस सन्दर्भमा बाज्रिलका शिक्षाविद् पाउलो फ्रेरेको “तपाइ जहाँ हुनुहुन्छ त्यहाँबाट शुरु गरौं, तपाइसंग जे छ त्यहाबाट शुरु गरौं” भनाईलाई मनन गरौं । सुधारको शुरुवात आफैबाट गरौ । दोष र खोट भन्दा आफ्नो जिम्मेवारी खोजौं, अन्यत्र स्थानका सफल अभ्यासलाई समेत मनन गरौं, पक्कै असल विद्यालय निर्माणमा सहयोग पुग्दछ । सन्दर्भ सामग्री– १. नमूना विद्यालय विकास विद्यालय सधार गुरुयोजना शिक्षा विभाग सानोठिमी भक्तपुर २. Prospectus 2019-20, City Montessori School Lucknow, India – यो लेख २०७६/१०/०६ गते विमोचित सिद्धार्थ मावि हेटौडाद्वारा प्रकाशित मुखपत्रमा प्रकाशित गरिएको थियो ।