मकवानपुर– कोभिड—१९ (कोरोना भाइरस) का कारण मकवानपुरमा चैत्र १ गते बाट संचालित राष्ट्रिय दादुरा–रुबेला खोप अभियान स्थगित भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्यायका अनुसार चैत मसान्तसम्मका लागि खोप अभियान स्थगित भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर नै खोप अभियान सुरु नभएका पालिका, वडा र स्वास्थ्य संस्थाको कार्यक्रम स्थगित गरेको हुनाले मकवानपुरमा दोस्रो चरणको कार्यक्रम पनि चैत्र मसान्त सम्मका लागि स्थगित गरिएको उहाँले जानकारी दिनुभयो । सरकारको आर्थीक बर्ष २०७६–७७ मा बहुबर्षीय खोप योजना अन्तर्गत मकवानपुरमा दुई चरणमा दादुरारुवेला खोप अभियान कार्यक्रम सञ्चालन हुने तयारी रहेको थियो ।
पहिलो चरणमा जिल्लाको बकैया, राक्सिराङ, कैलाश, मनहरी र बागमती गाउँपालिकामा कार्यक्रम संचालन भएको र ती गाउँपालिकाहरुमा खोप कार्यक्रम सम्पन्न भईसकेको उहाँले जानकारी दिनुभयो । त्यस्तै दोस्रो चरणको कार्यक्रम अन्तरगत जिल्लाको भीमफेदी गाउँपालिकामा चैत्र १० गतेबाट खोप अभियान संचालन भएको भएपनि सरकारले “लकडाउन” को निर्णय गरेकाले भीमफेदीसहित अन्य बाँकी सबै पालिकामा अभियान स्थगित गरिएको प्रमुख उपाध्यायले जानकारी दिनुभयो । दुईचरणमा सञ्चालन हुने कार्यक्रममा जिल्लाका ९ देखि २४ महिनाका १२ हजार ९८ र २४ देखि ५९ महिनाका ३१ हजार २०५ जना गरि ४३ हजार ३०३ बालबालिकालाई दादुरा रुवेला बिरुद्धको खोप लगाउने तयारी थियो । हाल सम्म कति बालबालिकालाइ खाेप लगाइयाे भन्ने तथ्यांक संकलन समेत नभइसकेकाे उपाध्यायले जानकारी दिनुभयाे ।