फागुन १५, मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भिडभाड नगरी मर्यादित र शान्तिपूर्ण रूपमा होली मनाउन आग्रह गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिसँगै फागुपूर्णिमा (होली) परेकाले भिडभाड नगरी मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन प्रशासनले आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्धारा जारी सूचनामा फागुन १८ र १९ गते पर्ने होलीलाई धार्मिक तथा सांस्कृतिक मर्यादाभित्र रही मनाउन आह्वान गरिएको छ । निर्वाचन आचारसंहिता २०८२ लागू रहेको अवस्थामा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कुनै पनि गतिविधिले निर्वाचन वातावरणमा असर नपार्ने गरी पर्व मनाउन प्रशासनले सबै राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, धार्मिक संघसंस्था तथा आमनागरिकलाई सचेत गराएको छ ।
सूचनाअनुसार होलीका नाममा भिडभाड हुने कार्यक्रम नगर्न र गर्नै परे जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्नेछ। जबरजस्ती रङ दल्ने, अमर्यादित तथा उच्छृङ्खल व्यवहार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलमा होहल्ला गर्ने, चर्को आवाजमा डिजे बजाउने तथा पटाका–आतिसबाजी पड्काउने कार्य नगर्न पनि प्रशासनले निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइए जानकारी गराउनसमेत आग्रह गरिएको छ । प्रचलित कानुन तथा निर्वाचन आचारसंहिता विपरीत गतिविधि भए कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।










