फागुन १६, हेटाैंडा । इरानविरुद्ध अमेरिका र इजरायलले आज व्यापक सैन्य आक्रमण सुरु गरेको छ । राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो आक्रमण भएको थियो भने त्यसपछि इरानका विभिन्न सहरहरूमा रहेको सैनिक अखाडाहरूमा आक्रमण गरिएको छ ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको भिडियो सन्देशमा अमेरिकाले ‘इरानमा प्रमुख लडाइँ अपरेसनहरू’ सुरु गरेको बताउनुभयो । उहाँले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको दाबी गर्नुभयो ।
यसैबिच, इरानको मिनाव र जास्क सहरमा अमेरिकी र इजरायली आक्रमणमा परि कम्तीमा ७० जनाको मृत्यु भएको छ । आक्रमणमा कारण ईरानभर ईन्टरनेट सेवा लगभग पूर्ण रूपमा अवरुद्ध भएको बिबिसीमा उल्लेख छ । आक्रमणपछि इरानका परराष्ट्र मन्त्री अब्बास अराघचीले दुई देश मिलेर गरेको आक्रमण पूर्णतया विनाकारण र अवैध भएको आरोप लगाउनुभएको छ ।
अमेरिकी र इजरायली आक्रमणका कारण मध्य पूर्वी क्षेत्रमा तनाव बढेको छ । अमेरिकाले अहिले मध्यपुर्वी देशहरू कतार, युएई, बहराइन, सिरिया, जोर्डन, साउदी अरेबिया र इराकमा पनि व्यापक आक्रमण सुरु गरेको छ । कतिपय देशहरूले आफ्ना हवाई अड्डाहरू हाललाई बन्द गरेका छन् ।
आक्रमणपछि मध्य पूर्वीय राष्ट्रहरूले आफ्ना उडानहरू सीमित पारेको छ । भारतबाट युएईतर्फ जाँदै गरेको उडानलाई भारत नै फर्काइएको भारतीय सञ्चारमाध्यमहरूमा उल्लेख छ । आक्रमण अमेरिकाले इरानमाथि आणविक सम्झौताका लागि दबाब बढाउँदै क्षेत्रमा लडाकु जेट र युद्धपोतहरू तैनाथ गरिरहेको अवस्थामा भएको हो ।
इरानले केही समयअघि दर्जनौँ क्षेप्यास्त्र इजरायलतर्फ प्रहार गरेको छ । इजरायलका अस्पतालहरूले आकस्मिक प्रोटोकल लागू गर्दै बिरामी र शल्यक्रियालाई भूमिगत सुविधामा सार्ने तयारी गरेका छन् । इजरायलले आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको जनाएको छ ।
यसैबीच, चीनको परराष्ट्र मन्त्रालयले जारी युद्धका विषयमा चासो व्यक्त गर्दै इरानको सार्वभौम सत्ता र सुरक्षाको सम्मान गर्दै तत्काल युद्धबिराम गर्न आव्हान गरेको छ । संयुक्त राष्ट्र सङ्घ, रुस, अष्ट्रेलिया, बेलायतलगायत ईयु देशहरूले पनि दुबै तर्फबाट भइरहेको आक्रमण मानव हितका लागि जतिसक्दो चाँडो रोकिनुपर्नेमा जोड दिएका छन् ।









