फागुन १६, मकवानपुर । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर राना मगरले जनताको विश्वासलाई काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा घरदैलो अभियानलाई तीव्र बनाएका रानाले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी र आधारभूत सेवाका विषयमा छलफल गर्दै यस्ताे प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।
निर्वाचन हुन अब केही दिन मात्र बाँकी रहँदा बिहानदेखि साँझसम्म विभिन्न बस्तीमा पुगेर मतदाताका समस्या सुन्ने र समाधानका योजना प्रस्तुत गर्ने क्रमलाई निरन्तरता दिनुभएकाे छ । यसै क्रममा शनिबार (आज) हेटौँडा उपमहानगरपालिका–२ अन्तर्गत सानोपोखरा, सिँचाइ टोल, चौकीटोल, बनस्खडी, मनकामना चोक र कान्तिराजपथ क्षेत्रमा गरिएको घरदैलो कार्यक्रममा स्थानीयले अबिर, फूलमाला र शुभकामनासहित स्वागत गरेका छन् ।
त्यस्तै वडा नम्बर–१६ र १७ का विभिन्न बस्तीमा पनि उहाँले मतदातासँग संवाद गर्नु भएकाे छ । स्थानीय बासिन्दाले सडक स्तरोन्नति, कृषि आधुनिकीकरण, युवा रोजगारी, खानेपानी र स्वास्थ्य सेवाको सुधारलगायतका माग अघि सारेका थिए । ती मागलाई सम्बोधन गर्दै रानाले आफू निर्वाचित भए जनताको अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएकाे छ ।
उहाँले स्थायित्व र स्पष्ट दृष्टिकोणसहितको नेतृत्वले मात्र क्षेत्रको समग्र विकास सम्भव हुने उल्लेख गर्दै एमालेको सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नुभयाे । “निर्वाचनपछि पनि म जनतामाझै रहनेछु, जनताको समस्या समाधान नै मेरो पहिलो दायित्व हुनेछ,” उहाँले भन्नुभयाे ।
निर्वाचनको मिति नजिकिँदै जाँदा क्षेत्र नम्बर–१ मा चुनावी माहोल थप सक्रिय बन्दै गएको देखिएको छ । नेकपा एमाले मकवानपुरले सूर्य चिन्हमा मतदान गरी राना मगरलाई विजयी गराउन मतदातासमक्ष अपिल गरेको छ । घरदैलो कार्यक्रममा नेता, कार्यकर्ता, युवा तथा समर्थकहरूको उत्साहजनक सहभागिता रहेको छ ।









