फागुन १६, मकवानपुर । देश निर्वाचनमय बनेसँगै राजनीतिक दलहरूले घरदैलो तथा कोणसभालाई तीव्रता दिएका छन् । मतदाता फकाउन उम्मेदवारहरू प्रतिबद्धता, प्रतिज्ञापत्र र वाचापत्रसहित घर–घर पुगिरहेका छन् । यसैक्रममा मकवानपुरमा पनि चुनावी सरगर्मी बढेको छ ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त छन् । सो क्षेत्रमा महेश कुमार बर्तौलाले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका बर्तौलाले आफू विगतमा गरेको विकास निर्माणका काम, संगठनात्मक सक्रियता र संसदीय अनुभवका आधारमा जित सुनिश्चित हुने दाबी गरेका छन् ।
घरदैलो कार्यक्रमका क्रममा उनले आफूले ३२ महिनाको संसदीय भूमिकामा रहँदा मतदातालाई अपमानित गर्ने वा गलत क्रियाकलाप नगरेको उल्लेख गरे । “तपाईंहरूले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा यस क्षेत्रका मतदाताको नाकमा हिलो लाग्ने कुनै काम गरेको छैन,” उनले भने ।
बर्तौलाले संसदमा कानुन निर्माणमा सक्रिय भूमिका खेलेको दाबी गर्दै २४ भन्दा बढी कानुन निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागी भएको बताए । साथै, १६ वर्षदेखि टुंगो नलागेको सशस्त्र द्वन्द्वसँग सम्बन्धित संक्रमणकालीन न्यायको कानुनलाई निष्कर्षमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
२०७९ सालको निर्वाचनमा बर्तौलाले एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले पराजित गरेका थिए । उनले ३४ हजार ९ सय १६ मत प्राप्त गर्दा खतिवडाले ३० हजार ३ सय ९६ मत ल्याएका थिए । त्यस्तै, रास्वपाका भरत पराजुलीले १२ हजार ३९ तथा राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ मत प्राप्त गरेका थिए ।
शनिबार बिहान हेटौँडा उपमहानगरपालिका–१ अन्तर्गत चौकीटोल हुँदै चाइना क्वार्टरका विभिन्न बस्तीमा सम्पन्न घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै बर्तौलाले स्वाधीनता, संविधान र राष्ट्रिय हितको रक्षा गर्न सूर्य चुनाव चिह्नमा मतदान गर्न आग्रह गरे । एमाले सरकार बनाउने वा पद प्राप्त गर्ने उद्देश्यभन्दा मुलुकलाई जटिल अवस्थाबाट निकास दिन चुनावमा होमिएको उनले स्पष्ट पारे ।
निर्वाचन देशको भविष्यसँग जोडिएको ऐतिहासिक अवसर भएको उल्लेख गर्दै उनले मतदातालाई आवेग वा आक्रोशमा नभई विवेकका आधारमा मतदान गर्न आग्रह गरे । सामाजिक सञ्जालमा फैलाइने भ्रमका आधारमा निर्णय नगर्न उनले सुझाव दिए ।
स्थानीय मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै बर्तौलाले सीमावर्ती बस्ती, भूमिहीन किसान, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपूर्जा उपलब्ध गराउने विषय संसदमा उठाउने बताए । प्रतिनिधिसभा र समानुपातिकतर्फ दुई छुट्टाछुट्टै मतपत्र हुने स्मरण गराउँदै उनले सूर्य चिन्हमा मतदान गरी स्पष्ट दृष्टिकोण बोकेको उम्मेदवारलाई समर्थन गर्न अपिल गरे ।
नेकपा एमाले हेटौँडा उपमहानगरपालिका–१ वडा कमिटीको आयोजनामा सम्पन्न उक्त घरदैलो कार्यक्रममा नेता, कार्यकर्ता, युवा तथा समर्थकहरूको उत्साहजनक सहभागिता रहेको जनाइएको छ ।