फागनु १५, मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध तथा सवारी साधन सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी साधन सञ्चालन तथा मदिराजन्य पदार्थको बिक्री–वितरणमा कडाई गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा हस्ताक्षरित सूचनामा फागुन १४ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन नगर्न आग्रह गरेको हो । प्रशासनले निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न यस्तो निर्णय गरिएको जनाएको छ ।
यस्तै, फागुन २० गते राति १२ः०० बजेदेखि मतदान कार्य सम्पन्न नहुँदासम्म अत्यावश्यक सेवा बाहेक अन्य सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । प्रशासनका अनुसार एम्बुलेन्स, खानेपानी ट्यांकर, दूध ढुवानी गर्ने सवारी, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल तथा विद्युत् सेवा, कूटनीतिक नियोगका सवारी र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सवारी सञ्चालन तथा मदिराजन्य पदार्थको बिक्री–वितरणमा कडाइ गरिएको प्रशासनको भनाइ छ । प्रशासनले होटल व्यवसायी, यातायात व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणलाई निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । सूचनाविपरीत कार्य गरेमा प्रचलित कानून तथा निर्वाचन आचारसंहिता अनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।