फागुन १३, मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा स्वास्थ्य तथा उद्धार संयन्त्रलाई पूर्ण तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्वाचन अवधिमा सम्भावित विपद् तथा आकस्मिक घटनालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा र उद्धार संयन्त्रलाई ‘हाई अलर्ट’मा राख्ने निर्णय गरेको हो ।
बैठकले जनस्वास्थ्य कार्यालयमार्फत जिल्लाका सबै स्थानीय तहमा तत्काल परिचालन गर्न सकिने गरी साधन–स्रोतसहित आपतकालीन स्वास्थ्य टोली तयारी अवस्थामा राख्न अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै, हेटौंडा अस्पताललगायत जिल्लाका सबै स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । हेटौंडा अस्पताललाई विशेष सतर्कता अपनाउन र तयारीको विवरण जिल्ला प्रशासन कार्यालयमा पेश गर्न भनेको छ ।
त्यसैगरी, जिल्लाभित्र सञ्चालनमा रहेका दमकल तथा एम्बुलेन्सहरूलाई जुनसुकै समयमा परिचालन गर्न सकिने गरी पूर्ण रूपमा चालु अवस्थामा राख्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएको छ । भने, निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै सो अवधिमा स्वास्थ्यकर्मीहरूलाई बिदामा नबस्न र जिल्ला नछोड्न आवश्यक व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।
बैठकपछि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित बनाउन स्वास्थ्य तथा उद्धार संयन्त्रको तयारी अनिवार्य रहेको भन्दै निर्वाचनको समयमा कुनै पनि आकस्मिक अवस्था आएमा तत्काल प्रतिक्रिया दिन सक्ने गरी संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।
प्रतिनिधि सभा निर्वाचनः मकवानपुरमा स्वास्थ्य तथा उद्धार संयन्त्र ‘हाई अलर्ट’मा
निर्वाचन अवधिमा बिदा रोक, आपतकालीन टोली तयारी अवस्थामा राख्ने निर्णय









