मकवानपुर, ११ फाल्गुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गर्दै पुरानै घर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे छ। करिब ३० वर्ष लामो राजनीतिक यात्रापछि पराजुली रास्वपा छाडेर कांग्रेसमा फर्किनुभएकाे हाे ।
रास्वपा मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा सभा आयोजना गरिरहेका बेला पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गर्नुभएकाे हाे । उहाँलाई कांग्रेस महामन्त्री गगनकुमार थापा ले सर्लाहीमा औपचारिक रूपमा पार्टी प्रवेश गराउनुभएकाे हाे । पराजुलीसहित रास्वपा मकवानपुरका केही नेताहरू आइतबार राति नै सर्लाही पुग्नुभएकाे थियाे ।
कांग्रेस नेतृत्वसँगको भेटपछि पराजुलीले सामाजिक सञ्जालमार्फत रास्वपा परित्यागको घोषणा गर्दै पार्टीको नेतृत्वशैलीमाथि गम्भीर प्रश्न उठाउनुभएकाे छ । उहाँले पार्टीभित्र सीमित व्यक्तिको प्रभाव बढ्दै गएको, चाकरीवाद मौलाउँदै गएको, आलोचनालाई अस्वीकार गर्ने प्रवृत्ति विकसित भएको र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाउनुभएकाे छ ।
“हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौँ, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो,” पराजुलीले भन्नुभयाे । यसअघि बागमती प्रदेश उपसभापति दिनेश हुमागाईं, मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा तथा नेतृ खेमकुमारी भुर्तेलले पनि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाड्नुभएकाे थियाे ।









