थाहा नगर, ९ फागुन । नेकपा (एमाले) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार बर्तौलाले आफ्नो अघिल्लो संसदीय कार्यकालमा सदनभित्र सधैँ श्रद्धाका साथ जनमुखी नेता रुपचन्द्र विष्ट ‘रुदाने’को नाम लिने गरेको स्मरण गर्नुभएको छ । चुनावी अभियानका क्रममा थाहा नगरपालिकाको पालुङमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बर्तौलाले आफूले ‘रुदाने’को कार्यशैलीलाई नै आफ्नो राजनीतिक मार्गदर्शक बनाएको बताउनुभयो ।
विगतको अनुभव सुनाउँदै बर्तौलाले भन्नुभयो— “मैले संसदमा रहँदा सधैँ रुदानेको आदर्शलाई सम्मानका साथ उठाएको छु । सदन चल्दा बैठकमा जनताको आवाज बुलन्द गर्ने र नचल्दा जनताकै घरआँगनमा पुग्ने गरेको थिएँ ।” उहाँले जनताको गुनासो र सुझाव संकलन गरेर सदनमार्फत सरकारलाई जवाफदेही बनाउन आफूले कहिल्यै कसर बाँकी नराखेको दाबी गर्नुभयो। योजनादेखि बजेटसम्म बर्तौलाले रुदानेको सम्मान र थाहा नगरको समृद्धिका लागि आफ्नो पहलमा महत्वपूर्ण कामहरू सुरु भएको फेहरिस्त प्रस्तुत गर्नुभयो । उनले आफुले मनहरी–राक्सिराङ–कैलाश–थाहा सडकलाई ‘रुपचन्द्र विष्ट मार्ग’ नामकरण गरी डिपिआर (DPR) सम्पन्न भएको र उक्त सडकका लागि बजेट विनियोजन भएर काम अगाडि बढिसकेको जानकारी दिँदै उहाँले यसलाई पूर्णता दिन पुनः सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
एमाले मकवानपुरका निर्वाचन फोकल पर्सन आशिष अस्लामीले संचारकर्मीलाई दिएकाे जानकारी अनुसार थाहा नगरलाई केन्द्रविन्दु बनाएर भीमफेदी र इन्द्रसरोवरलाई जोड्दै बृहत् पर्यटन सर्किट बनाउने योजना अघि सारिएको छ । कार्यक्रममा एमाले नेता सुरेन्द्रमान प्रधानले स्थानीय भन्दै मत माग्ने अन्य उम्मेदवारहरूको आलोचना गर्नुभयो । उहाँले कुनै समय मेयर हुँदा नगरपालिकालाई १० करोड बेरुजु र ऋणमा डुबाउनेहरूले विकासको कुरा गर्नु हास्यास्पद भएको बताउनुभयो । यस्तै, एमाले थाहा नगर उपाध्यक्ष हेम लामाले तामाङ भाषामा मतदातालाई बुझाउँदै भन्नुभयो— “कानुनमा स्नातक र दुई विषयमा स्नातकोत्तर (मास्टर्स) गरेका बर्तौला नै सबैभन्दा योग्य उम्मेदवार हुन् । संसदमा हाम्रो क्षेत्रको वकालत गर्ने क्षमता उहाँमा मात्र छ।” थाहाका विभिन्न वस्तीहरुमा लुगेका बर्तौला संग आज एमाले नेताहरु कल्पना बलामी, बिमल प्रसाद ढकाल, अचुतम ढकाल, सुजन रायमाझी, युवराज लामा, सुनिता दोङ्ग, हेम थीङ लामा, सुजन खत्री, राम राजा केसी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।









