हेटौंडा, २९ माघ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का नेकपा (एमाले) उम्मेदवार महेश कुमार बर्तौलाले मध्यवर्ती क्षेत्रका बासिन्दाले भोग्दै आएको वन्यजन्तु र मानव बीचको द्वन्द्वलाई नीतिगत रूपमै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चुनावी अभियानका क्रममा बिहीबार मनहरी गाउँपालिकाका विभिन्न वडाहरूमा मतदातासँग भेटघाट गर्दै बर्तौलाले यस्तो बताउनुभएको हो ।
​साविक हाँडिखोला क्षेत्रमा आयोजित छलफलमा बर्तौलाले मध्यवर्ती क्षेत्रको ऐनले स्थानीयको अधिकार कुण्ठित गरेको उल्लेख गर्नुभयो । निर्वाचन फोकल पर्सन आशिष अस्लामीले मिडियालाई दिएको जानकारी अनुसार, बर्तौलाले यहाँको वस्ती सदियौँ देखिको भएकोले पछि बनेको ऐनले जनतालाई दुःख दिन नहुने र भूमिहीनले धनीपुर्जा पाउनुपर्ने पक्षमा आफू दृढ रहेको बताउनुभएको थियो । ​बर्तौलाले पालिकाले भूमिहीनको लगत संकलन गरेर निर्णय गरी भूमि आयोगमा पठाउन ढिलाइ गरेकोमा असन्तुष्टि व्यक्त गर्दै यसप्रति जनता जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
सानहरूले राखेको बाँदर र दुम्सी आतंकको गुनासो सम्बोधन गर्दै बर्तौलाले यसको तीनवटा विकल्प अघि सार्नुभयो । उहाँले बाँदरलाई विदेश निर्यात गर्ने, बन्ध्याकरण गर्ने वा किसानलाई मार्न पाउने अधिकार दिने गरी कानुनी व्यवस्थापन गर्न विज्ञहरूसँग सल्लाह भइरहेको जानकारी दिनुभयो । “अब मृग र दुम्सीले गर्ने क्षतिको पनि क्षतिपूर्ति पाउने गरी नीतिगत काम गर्नेछु,” उहाँले थप्नुभयो । ​ ​भेटघाटका क्रममा स्थानीयले मध्यवर्ती प्रशासनप्रति कडा आक्रोश पोखेका छन् । मनहरी–३ का ७० वर्षीय लिलानाथ रिजालले भन्नुभयो, “आफ्नै बारीको रुखको हाँगो काट्न पाइँदैन । निकुञ्जले हामीलाई जनावरभन्दा तल्लो दर्जाको व्यवहार गर्छ ।” ​
त्यस्तै, मनहरी–५ दर्दराका राजु मिजारले एकातिर निकुञ्जको समस्या र अर्कोतिर राप्ती नदीको कटानले गर्दा बस्ती नै जोखिममा परेको भन्दै तटबन्धनको माग गर्नुभयो । अन्य स्थानीयले खानेपानी, सिँचाइका लागि डिप बोरिङ र सडक ढलानका योजनाहरू माग गरेका थिए। ​ ​पछिल्लो समय राजनीतिमा ‘नयाँ’ शक्ति भन्दै भइरहेको चर्चाप्रति टिप्पणी गर्दै बर्तौलाले विचार र एजेन्डा मुख्य हुने बताउनुभयो । “केही मान्छे युवा र वयस्क बीच ध्रुवीकरण गर्न खोज्दैछन्,” उहाँले भन्नुभयो, “नयाँका नाममा बा-आमालाई पुरानो भनेर ढोका थुन्ने दिन आयो भने के होला ? हामीसँग स्पष्ट एजेन्डा र कामको अनुभव छ ।” ​ ​बर्तौलाले बिहीबार मनहरी–३ को घट्टेदमार, खौरालटोल, कौगेडी, वडा नम्बर २ को झुल्यान र भुन्द्रुङटाँडी, वडा नम्बर ५ को दर्दरा, डिल्लिपुर तथा वडा नम्बर ९ को माथिल्लो ज्यामिरे क्षेत्रमा पुगेर मतदाताको समस्या सुन्नुभएको थियो ।
कार्यक्रममा एमाले मनहरी अध्यक्ष नवीन सुवेदी र पूर्व उपाध्यक्ष मनिला विष्टले बर्तौलाले विगतमा जनचासोका विषयमा संसद्मा सशक्त आवाज उठाएको चर्चा गर्नुभयो । मतदाता भेटघाटमा एमाले नेताहरु राजाराम स्याङतान, बिरेन्द्र डिसी, लक्ष्मण उप्रेती, अनिला बिष्ट, बिरु मिजार, विद्यार्थी नेताहरु सरोज अर्याल, बुद्दरत्न स्याङतान, निर्दोश लुइटेल, युवा नेताहरु अमृत बर्तौला लगायतको उपस्थिति रहेको थियो ।