मकवानपुर, २८ माघ  । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले भ्रष्टाचार निर्मूल पार्न सबैको प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवसको अवसरमा हेटौंडा स्थित कार्यालयले बुधबार आयोजना गरेको समारोहमा प्रदेश प्रमुख देवकोटाले हरेक व्यक्ति कानुनी र नैतिकताको दायराभित्र रहनुपर्ने बताउनुभएको हो ।

प्रदेश प्रमुख देकोटाले भ्रष्टाचार नियन्त्रणमा अख्तियार अझ सशक्त र प्रभावकारी बन्नुपर्ने भन्दै निष्पक्ष, स्वतन्त्र र परिणाममुखी अनुसन्धानमार्फत आम नागरिकको भरोसा जित्न उहाँले आयोगलाई आग्रह समेत गर्नुभयो । भ्रष्टाचारलाई ‘प्राणघातक क्यान्सर’सँग तुलना गर्नुहुँदै उहाँले यसको पूर्ण निर्मूलका लागि शून्य सहनशीलता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टचारलाई नियन्त्रण भन्दा निर्मुल नै पार्नुपर्ने बताउनुभयो । शासन सञ्चालन गर्ने राजनीतिक व्यक्तित्व, प्रशासन चलाउने निजामती संयन्त्रले भ्रष्टचार गर्देनौँ, गर्न पनि दिन्नौँ भन्ने नारालाई व्यवहारमा पनि लागु गर्नुपर्ने उल्लेख गर्नुभयो । अख्तियारमा उजुरी नै नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले लोकतन्त्रमा जनता नै सर्वोपरि भएकोले अख्तियारको काम कारवाही जनताको पक्षमा हुनुपर्ने भन्दै उहाँले जनतासंग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणसंग सम्बन्धी उजुरीहरुको छिटो छिनोफानो हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले अख्तियारको काम जति कम भयो, त्यत्ति नै सुशासन कायम हुँदै जाने धारणा राख्नुभयो । सबै तह र तप्कामा बसेकाहरुले आफ्नो भुुमिका निर्वाह गर्दा सुशासनयुक्त, भ्रष्टचार मुक्त देश निर्माण हुने उहाँले बताउनुभयो । उपसभामुख चापागाईले प्रदेशसभा र अख्तियारबीच विशेष सम्बन्ध रहेको जिकिर गर्नुहुँदै प्रदेशसभाले बनाएका कानुनको विषयमा सबै प्रष्ट हुँदा अख्तियारको दुरुपयोग कम हुने बताउनुभयो ।

कार्यक्रममा कार्यालयका प्रमुख रामकृष्ण पुडासैनीले आर्थिक वर्ष २०८१÷८२ मा ७० दशमलब ४२ उजुरी फछ्र्यौट भएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौंडा स्थित कार्यालयमा दर्ता भएका २ हजार ७६६ उजुरी मध्ये १ हजार ९४८ उजुरी फछ्र्यौट भएको हो । चालु आर्थिक वर्ष २०८२÷८३ मा ८ सय १८ वटा उजुरी जिम्मेवारी सरेर आएको बताउनुहुँदै उहाँले आयोगमा हालसम्म ९ सय ५८ उजुरी दर्ता भई १ हजार ७७६ उजुरी कायम रहेको जानकारी दिनुभयो । कायम रहेका मध्ये ७ ३१ उजुरीको फछ्यौट भई हाल १ हजार ४५ उजुरी छानबीनको क्रममा रहेको उहाँले बताउनुभयो ।
३५औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा कार्यालयका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । समारोहमा विभिन्न सरकारी कार्यालयका प्रमुख, कर्मचारी, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।