मकवानपुर, माघ २४ । मकवानपुरमा ४ हजार बढी बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (सिकोलिन) खोप लगाइने भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार माघ २५ गतेदेखि फागुन २२ गतेसम्म ४ हजारभन्दा बढी बालिकालाई एचपीभी खोप लगाउने भएको हाे ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लाभर कुल ४ हजार ४ सय ३ जना बालिका खोप अभियानको लक्षित समूहमा परेका छन् । कक्षा ६ मा अध्ययनरत ४ हजार २ सय ३० जना, विद्यालय नजाने १० वर्षका १ सय ६ जना तथा अघिल्लो वर्ष छुटेका ११ देखि १४ वर्ष उमेर समूहका ५७ जना बालिकालाई खोप लगाइने कार्यालयका निमित्त प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा माघ २५ देखि फागुन १ गतेसम्म विद्यालयमै पुगेर तथा दोस्रो चरणअन्तर्गत फागुन २२ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ । माघ २५ देखि २९ गतेसम्म विद्यालयमै पुगेर कक्षा ६ का बालिकालाई खोप दिइनेछ भने त्यसपछि फागुन २२ गतेसम्म पालिका मार्फत विद्यालय नजाने १० वर्षका बालिकालाई खोप सेवा प्रदान गरिने निमित्त प्रमुख घिमिरेले जानकारी दिनुभयाे । किशोरी अवस्थामै खोप लगाएर भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप सुरक्षित रहेको र सामान्य दुखाइ वा रिङ्गटा जस्ता असर क्षणिक मात्र हुने उहाँले बताउनुभयाे ।









