मकवानपुर, माघ २२ । हेटौंडा–९, स्थित कृष्ण आदर्श विद्यालयमा एक दिने आँखा जाँच शिविर सम्पन्न भएको छ । विद्यालयको आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पताल र क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहकार्यमा आँखा जाँच शिविर सम्पन्न भएको हो ।
विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी विद्यालयमा सम्पन्न शिविरमा ४२० जनाको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा ३० जनामा दृष्टि समस्या देखिएको र उनीहरूलाई थप उपचारका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा रिफर गरिएको विद्यालयका प्रिन्सिपल नविन केसीले जानकारी दिनुभयो ।
स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको शिविरले विद्यालय र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाएको उहाँले बताउनुभयो । विद्यालय परिसरमै आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई आँखासम्बन्धी समस्याबारे सचेत गराउनुका साथै समयमै जाँच र उपचारको महत्त्वबारे जानकारी गराएको विद्यालय केसीले बताउनुभयो । कार्यक्रममा हेटौंडा सामुदायिक आँखा अस्पताल नेत्र अधिकृत कृष्ण ढृगाना सहितको प्राविधिक टोलीले परीक्षण कार्य गरेको थियो ।