हेटाैंडा, १५ माघ । नेपालमा निपाह भाइरसको जोखिम बढेको भन्दै विज्ञले सतर्कता अपनाउन आग्रह गरेका छन् । पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग रहेको भन्दै चिकित्सकले यसबाट बच्न आग्रह गरेका छन् । भारतको पश्चिम बंगालमा निपाहको संक्रमण देखिएसँगै नेपालमा पनि यसको जोखिम उच्च भएको हो ।
के हो निपाह भाइरस ?
निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा निपाह भाइरस पाइन्छ ।
यो कसरी सर्छ ?
निपाह भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । संक्रमित चमेरोबाट सुंगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ । संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, संक्रमित व्यीक्तको रगत, दिशा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा निपाह भाइरस सर्ने जोखिम रहने चिकित्सक बताउँछन् ।
यसको लक्षणहरू
ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, स्वासप्रश्वासमा कठिनाइ हुने, टनसिलाइटिस जस्ता निपाहका लक्षणहरू हुन् ।
यसको रोकथाम कसरी गर्न सकिन्छ ?
फलफूल खाँदा पखालेर मात्र खान चिकित्सकले सुझाएका छन् । तरकारी सकेसम्म पकाएर खाने, गाईवस्तुको गोठ, फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउन पनि चिकित्सकको सुझाव छ ।
निपाह भाइरसको त्रास कसरी बढ्यो ?
भारतको पश्चिम बंगालमा निपाहका बिरामी भेटिएपछि एसियन मुलुकसँग जोडिएका विमानस्थलहरूमा कडाइ गरिएको थियो । पश्चिम बंगालमा डिसेम्बरयता दुईजना स्वास्थ्यकर्मीमा निपाह भाइरसको संक्रमण पुष्टि भएको र उनीहरूको संसर्गमा रहेका १९६ जनालाई निगरानीमा राखिएको तर, उनीहरूको परीक्षण रिपोर्ट नेगेटिभ आएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सन् १९९८ मा मलेसिया र सिंगापुरस्थित सुँगुर फार्ममा काम गर्ने व्यक्तिहरूमा निपाह भाइरस पुष्टि भएको थियो । त्यसताका १०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै लाखौँ सुँगुर निपाह भाइरस संक्रमणकै कारण मरेका थिए । सुँगुर पालन गरेर जीविकोपार्जन गर्ने किसानले त्यसबखत ठूलो क्षति बेहोर्नु परेको थियो ।
बंगलादेशमा सन् २००१ यता निपाह भाइरस संक्रमणकै कारण सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । पश्चिम बंगालमा पनि सन् २००१ देखि २००७ को बीचमा निपाह भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसपछि अहिले निपाहको संक्रमण पुष्टि भएको हो ।
सन् २०१८ मा केरलामा १९ जनामा निपाह भाइरस संक्रमण पुष्टि भएको थियो । तीमध्ये दुईजनाको मृत्यु भएको थियो । हाल भारतको पश्चिम बंगालमा पुष्टि भएको निपाह नियन्त्रणमा आइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।