मकवानपुर, माघ १६ गते । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार सहिद दिवश विविध कार्यक्रम गरेर मनाईएको छ । हेटौंडा–११ स्थित सहिद स्मारकमा बागमती प्रदेश सरकारको आयोजना तथा स्मारक विकास समितिको व्यवस्थापनमा विविध कार्यक्रम आयोजना गरेर दिवश मनाएको हो ।

गत माघ १० गते देखि सप्ताहव्यापी रुपमा मनाईएको सहिद सप्ताहको आज अन्तिम दिन माघ १६ गते विविध कार्यक्रम आयोजना गरेर समापन गरिएको हो । दिवशका अवसरमा आज मुख्य दिन सहिदहरु प्रति सलामी, माल्यार्पण, श्रद्धाञ्जली सभा, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण र समापन कार्यक्रम कार्यक्रम भएको स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा, उपसभामुख अप्सरा चापागाई, मुख्यमन्त्री इन्द्रबहादुर बानीया, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सरकारका मन्त्रीहरुको, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

राणा शासन विरुद्धको आन्दोलनमा वि.सं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । शहीदको योगदानको कदर स्वरूप हरेक वर्ष माघ १० देखि १६ गते सम्म सप्ताहव्यापी रुपमा सहिद दिवस मनाउने गरिन्छ ।

स्मारक विकास समितिले सहिद सप्ताह–२०८२ को अवसरमा हरेक वर्ष झै यो वर्ष पनि माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रम आयोजना गरेर दिवश मनाएको छ । दिवशका अवसरमा पहिलो दिन पत्रकार भेटघाट तथा कार्यक्रम सार्वजनीक, दोस्रो दिन सहिद स्मारक परिसरमा सरसफाई, तेस्रो दिन सहिद स्मारक विकास समितिको परिषद बैठक (साधारणसभा) र सहिद स्मारक र विद्यार्थीबीच अन्तरक्रिया, चौथो दिन रत्तदान र आज पाचौं दिन प्रथम सहिद क्याप्टेन लखन थापा प्रति श्रद्धाञ्जली, छैठौं दिन “सहिदका सपना र नवयुवाको कर्तव्य विषयक वक्तिवकला प्रतियोगिता र अन्तिम दिन आज समापन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार २०८२ बालकुमारी थापा स्मृति केन्द्रलाई प्रदान गरिएको छ । केन्द्रकी अध्यक्ष जुनेली माया श्रेष्ठलाई प्रदेश प्रमुख देवकोटाले नगद २५ हजार राशी सहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।























