मकवानपुर, माघ १५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई वातावरणमैत्री बनाउने लक्ष्यसहित मकवानपुरमा हरित निर्वाचन (Green Election) अवधारणालाई विशेष प्राथमिकता दिईने भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार आयोगले यो निर्वाचनलाई वातावरणमैत्री हरित निर्वाचन बनाउने लक्ष्य लिएको हुँदा सोही अनुसार जिल्लामा पनि कार्यान्वयन गरिने भएको हो ।
बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले अनुसार मकवानपुरमा निर्वाचन प्रक्रियाबाट वातावरणमा पर्ने असर न्यूनीकरण गर्ने उपाय, हरित निर्वाचनका अभ्यासलाई प्राथमिकतामा राखेर काम भईरहेको छ । प्रमुख ढकालले निर्वाचन केवल राजनीतिक प्रक्रिया मात्र नभई सामाजिक र वातावरणीय जिम्मेवारीसँग पनि जोडिएकोले अनावश्यक कागज, फ्लेक्स, प्लास्टिक तथा प्रदूषणजन्य सामग्रीको प्रयोग घटाउँदै डिजिटल सूचना प्रवाह, पुनः प्रयोगयोग्य सामग्री र फोहोर व्यवस्थापनलाई निर्वाचनको अभिन्न अंगका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख ढकालले पोस्टर, पम्प्लेट र ब्यानरको सीमित प्रयोग, डिजिटल माध्यममार्फत प्रचार–प्रसार, ध्वनि प्रदूषण नियन्त्रण, मतदान केन्द्रमा फोहोर व्यवस्थापन तथा कार्बन उत्सर्जन घटाउने उपायहरू अपनाउनु पर्नेमा भन्दै हरित निर्वाचन अवधारणालाई व्यवहारमा उतार्दै वातावरणमैत्री र जिम्मेवार बन्न सबैलाई आग्रह समेत गर्नु भएकोछ ।