हेटौँडा, माघ १४ । उज्यालो नेपाल पार्टीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योञ्जन)ले परम्परागत राजनीति गर्ने नभई स्थानीय जनताको वास्तविक आवश्यकता अनुसार काम गर्ने र परिणाम देखिने विकासमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मकवानपुर क्षेत्र नं. १ अन्तर्गतका विभिन्न स्थानहरुमा आज घरदैलो कार्यक्रमका क्रममा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
बुधबार उहाँले मकवानपुर क्षेत्र नं. १ अन्तर्गत बकैया गाउँपालिका ५ र ७, बागमती गाउँपालिकाको ३ र ८ तथा हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाहरूमा घरदैलो गर्नुभएको हो । सो क्रममा उहाँले उहाँले भाषण र आश्वासनभन्दा काम, पारदर्शिता र उपलब्धिलाई प्राथमिकतामा राख्ने धारणा व्यक्त गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास प्रमुख प्राथमिकता हुने र ती क्षेत्रलाई स्थानीय अवस्था, स्रोतसाधन र जनताको चाहनाअनुसार योजनाबद्ध रूपमा अघि बढाउने बताउनुभयो । “विकास कागजी योजनामा सीमित हुनु हुँदैन, जनताले प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन नै वास्तविक विकास हो,” उहाँले भन्नुभयो ।
उहाँ विगतका वर्षहरूमा समाजसेवकका रूपमा मकवानपुर जिल्ला र हेटौँडा नगरपालिकाको शिक्षा क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । यस अवधिमा उहाँले निःशुल्क आइटी तालिम, इन्टर्नसिप तथा आइटीसम्बन्धी रोजगारीका अवसरहरू सिर्जना गर्दै धेरै युवालाई आत्मनिर्भर बनाउन सहयोग गर्नुभएको छ । निर्वाचित भएपछि ती कुराहरुलाई नीति निर्माण र कार्यान्वयनमा प्रयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो । लामाले आफ्नो व्यवस्थापन क्षमता र प्राविधिक ज्ञानको प्रयोग गर्दै मकवानपुर जिल्लालाई दीर्घकालीन रूपमा नमुना जिल्लाको रूपमा विकास गर्ने लक्ष्य लिएको भन्दै जनताका आधारभूत आवश्यकताको परिपूर्तिका लागि स्थानीय, प्रदेश र संघीय तहबीच प्रभावकारी समन्वय गरेर काम गर्ने योजना सुनाउनुभयो ।
निर्वाचन क्षेत्रभित्र घरदैलोका क्रममा इन्जिनियर लामाले स्थानीय युवा, महिला तथा सर्वसाधारण जनताबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको बताउनु भएको छ । स्थानीय स्तरमा देखिएको सकारात्मक माहोलले पार्टीको चुनावी अभियानलाई थप सशक्त बनाएको उहाँले बताउनुभयो ।